२ साउन, काठाडमौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जन चाहना अनुसार चल्न नसक्दा स्थानीय चुनाव हारेको प्रतिक्रिया दिएका छन् ।

आजदेखि शुरु केन्द्रीय सचिवालयको विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्र जनताले चाहेजस्तो हुन नसकेको र त्यही नै चुनावमा पराजयको प्रमुख कारण बनेको बताए ।

‘जनताले यस्तो माओवादी खोजेको होइन ।’ प्रचण्डको भनाई उद्यृत गर्दै एक नेताले भने जनताले खोजेजस्तो माओवादी हुन सकिएन । पराजयको कारण यही हो’ पार्टीभित्र रहेको गुट उपगुटप्रति असन्तुष्टी जनाउँदै अध्यक्ष प्रचण्डले गुट विघटन गर्नुपर्नेमा जोड दिए ।

उनले थपे ‘आजैबाट गुट विघटन गरौँ, होइन भने घोषित रुपमै गुट चलाउँ,’। झण्डै डेढघण्टा बोलेका प्रचण्डले कुनै लिखित प्रस्ताव भने पेश गरेनन् । उनले चुनाव हार्नुमा आन्तरिक कारण मात्रै नरहेको जिकिर गर्दै माओवादीलाई कमजोर बनाउन परिवर्तन नचाहने राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति नै लागेको आरोप लगाए ।

अध्यक्षको ब्रिफिङपछि जिल्ला इञ्चार्जहरुले रिपोर्टिङ गर्ने क्रम सुरु भएको छ । बैठकमा सचिवालय सदस्य र ७५ वटै जिल्लाका इञ्चार्जहरु सहभागी छन् । बैठक तीन दिनसम्म चल्नेछ ।