जनप्रतिनिधिले गाउँपालिकाको नाम नै फेरे

८ साउन, गाईघाट (उदयपुर) ।

गाउँपालिकाको बहुमत बोर्ड सदस्यको बैठकले उदयपुरको सुनकोशी गाउँपालिकाको नाम फेरेर लिङ्चिङ्बुङ गाउँपालिका राख्ने निर्णय गरेको छ ।

गाउँपालिकाको १३ सदस्यीय बोर्डका सदस्यमध्ये आठजना सदस्यले सुनकोशी गाउँपालिकाको नाम फेर्नु पर्ने प्रस्ताव ल्याएर बहुमतले पास गरेपछि सुनकोशी गाउँपालिकाको नाम फेरेर लिङ्चिङ्बुङ राख्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताए ।

यसका लागि बैठकले निर्णय गरिसकेको र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाएर स्वीकृत लिने तयारी भइरहेको गाउँपालिकाका उपाध्यक्ष रमिला राईले बताए ।

सुनकोशी गाउँपालिका नेपालमा धेरै स्थानमा नाम रहेकाले यसको छुट्टै पहिचानका लागि किराँती राई भाषाबाट लिङ्चिङ्बुङ भन्ने बुकी फूलको नाम राखेर गाउँपालिकाको नाम फेर्न लागिएको स्थानीय प्रतिनिधिहरुले बताए । रासस