२० मंसिर, एजेन्सी । इटलीका प्रधानमन्त्री माटेओ रेन्त्सीले पदबाट राजीनामा दिएका छन्।  3072

संवैधानिक सुधारबारे आइतबार भएको जनमत संग्रहमा आफ्नो हार स्वीकार्दै उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन्। तल्लो सदनले पारित गरेको विधेयकलाई अस्वीकार गर्नसक्ने गरी सिनेटको अधिकार घटाउन उनले राखेको प्रस्ताव फराकिलो अन्तरले पराजित भएको थियो।

रेन्त्सीले संवैधानिक सुधारबारे प्रस्ताव अघि बढाउँदै जोखिम मोले र अन्तत पराजित भए। उनको देशका मतदाताहरुले जनमत संग्रहमार्फत आफूहरुलाई संवैधानिक सुधार नचाहिएको भन्ने निर्णायक जवाफ दिए। उनकै पार्टीका कैयौं नेतासहित विपक्षीहरुले त्यस्तो प्रस्तावको विरोध गरेका थिए। यसअघि एउटा विज्ञप्तिमा रेन्त्सीले पराजयका लागि आफू दोषी रहेको स्वीकार्दै पदबाट राजीनामा दिने बताएका थिए।

बीबीसीका जेम्स रेनोल्डसले भने, ूसुधारबारे उनको प्रस्तावले प्रधानमन्त्रीको कार्यालयलाई ज्यादा शक्तिशाली बनाउने तर्क विपक्षी पार्टीको थियो। त्यसले भविष्यमा उनीहरुलाई प्रजातन्त्रको ज्ञान नभएका व्यक्तिबाट अपहेलित हुनसक्ने सम्भावना देखाउँथ्यो।ू

जनमत संग्रहको यो परिणाम इटलीका कैयौं विपक्षी पार्टीहरुका लागि ठूलो जित हो। यो जनमत संग्रहमा रेन्त्सीको प्रस्ताव जनमत संग्रहबाट पारित भए त्यसले उनलाई अत्यधिक अधिकार दिने भन्दै प्रचारमुखी विपक्षी पार्टी ुफाइभ स्टार मुभमेन्टुले व्यापक अभियानहरु चलाएको थियो। उक्त पार्टीको अब तत्कालको उद्देश्य भनेको आउँदो आमचुनावमा जित्नु र युरोपेली संघसँगको इटलीको सम्बन्धबारे पुनर्विचार गर्न दवाव दिनु हो।

तर अर्को चुनाव सन् २०१८ को फेब्रुअरीसम्म हुनेछैन। इटलीका राष्ट्रपतिले रेन्त्सीको ठाउँमा उनकै डेमोक्रेटिक पार्टीका नेता एवं अर्थमन्त्री पियर कार्लो पाडोआनलाई त्यतिबेलासम्मका लागि कामचालाउ सरकारको नेतृत्व गर्न जिम्मेवारी दिने सम्भावना छ।