नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले जनसरकार र जनप्रतिनिधिसभा घोषणा गरको छ । राजधानीको रत्नपार्कमै सभा गरेर उसले समानान्तर सरकारका रुपमा केन्द्रीय जनपरिषद् र समानान्तर संसदका रुपमा जनप्रतिनिधि सभा घोषणा गरेको हो । विप्लव माओवादीले जुन मान्यता राख्छ र समानान्तर सरकार भनेर जसरी आफ्नो संयन्त्र सार्वजनिक गरेको छ, के उसका गतिविधि अवैधानिक हुन लागेका हुन् ? उसका आगामी कार्यक्रम के छन् ? यस बारेमा बोमलाल गिरीले नेकपा माओवादीका पोलिट्ब्यूरो सदस्य एव उसले भर्खरै गठन गरेको केन्द्रीय जनपरिषद्का प्रमुख सन्तोष बुढामगरसँग कुराकानी गरेका छन् ।

के तपाईहरु अव अवैधानिक ढंगको आन्दोलनमा लाग्न थाल्नु भएको हो ?
होइन । हामी अवैधानिक होइन, खुल्ला रुपमा आन्दोलनको साधनको रुपमा जनपरिषद् गठन गरेका हौं ।

Santosh budha (1)

समानान्तर भन्ने वित्तिकै कसरी बैधानिक हुन्छ ?
अहिले हामीले समानान्तर सरकार भनेका छैनौं । समानान्तरको रुप भए सरकार नै भन्थ्यौं । हिजो पनि हामीले संयुक्त क्रान्तिकारी जनपरिषद् चलाउँदै आएका थियौं । जनयुद्धकालमा संयुक्त जनसंसद भन्यौं । तर अहिले सरकार र सत्ताकै रुपमा घोषणा गरेका छैनौं । अहिले दलालहरुको बिगविगी र हालिमुहाली छ । जनताका अधिकारहरु खोसिएका छन् । बोल्ने कोही छैन । हामीले आन्दोलनको नेतृत्व गर्नका लागि सबै जिल्लामा जनवर्गीय संगठनको मोर्चाको रुपमा संयुक्त जनपरिषद्हरु बनाएका थियौं अहिले त्यो मोर्चाको भेलाले केन्द्रयि परिषद् घोषणा गरेको हो ।

तपाईले संयुक्त मोर्चा भने पनि अहिले जे काम गर्नका लागि भन्नुभएको छ, त्यो त तपाईको पार्टीले नै गरेको थियो, वा गरेको भए हुदैनथ्यो नि होइन र ?
पार्टीले गरेको भए हुन्थ्यो । तर पार्टीले संगठनात्मक काम गर्दै वैचारिक नेतृत्व गर्छ । आम जनतासम्म पुग्नका लगि जन वर्गिय मोर्चाहरुको आवश्यकता पर्छ । त्यही जवस मोर्चाहरलाई एउटै सुत्रमा बाध्नका लागि जवस मोर्चाहरुलाई केन्द्रीत गरी माथिल्लो तहमा संयुक्त क्रान्तिकारी जनपरिषद् निर्माण गरेका हौं ।

तपाईले समानान्तर सरकार होइन भने पनि उमा भुजेलको नेतृत्वमा जनप्रतिनिधि सभा गठन गर्दै गर्दा, लडाकुहरुको फर्मेशन गर्दै गर्दा यो समानान्तर सरकारको अभ्यास होइन भनेर कसरी पत्याउने ?
हामीले घोषित रुपमै भनेका छौं कि अहिले पनि राज्य सत्ता जनताको हातमा आएको छैन । साम्राज्यवादी विस्तारवादीहरुको हातमा छ र उनीहरुका दलालहरुले यहाँको सत्ता चलाईरहेका छन् । त्यो सत्ताको रुप प्रतिकृयावादी बनेको छ । हिजोको संसदलाई ब्यूताइएको छ । जनताका अधिकार हनन भएका छन् । जनताले १० वर्षको संघर्षद्धारा हाँसिल गरेका उपलब्धी गुमेका छन् ।
त्यस्तो अवस्थामा यो सत्ताको चरित्र प्रतिकृयावादी छ । जसका कारण जतिबेला पनि शसस्त्र युद्धको सम्भावना रहन्छ । त्यस्तो अवस्थामा नेपाली जनताले प्रतिकार गर्ने संघर्षको चरित्र हिंसात्मक वा शसस्त्र पनि हुन सक्छ । त्यसले हिजोको जनयुद्धकै रुपमा त नहोला तर हिंसात्म्क चरित्र गहण गर्न पनि सक्छ । किनकी सत्ताको चरित्र प्रतिकृयावादी रहँदासम्म देशमा हिंसात्मक र सशस्त्र युद्धको सम्भावना भइरहन्छ । त्यो अहिले पनि विद्यमान छ । सुनसरीको हरिपुरमा भारतीय पक्षले नेपाली माथि गोली हानेको छ । बाह्य हस्तक्षेप कायमै छ । नेपाली सुरक्षाकर्मी माथि भारतीय पक्षले कुटपिट गर्ने हतियार लुट्ने काम भइरहँदा पनि यहाँको सत्ता चुप लागेर बसेको छ ।

सत्ताको चरित्र प्रतिकृयावादी वा तपाईहरुको हिजोको जस्तै शसस्त्र युद्ध वा जनयुद्धका जस्तै गतिविधि गर्ने चाहना ?
कुनै पनि कुराहरु चाहनाले मात्र हुँदैन । बाध्यात्मक अवस्था हो । हिजोको जनयुद्ध पनि वाध्यता थियो । अहिले पनि कसैको चाहनाले मान्छे मर्दैन । १६ हजार मान्छे इच्छाले मरेका थिएनन् । हामी इच्छाले जनयुद्धमा गएका थिएनौं र बल्ल बल्ल पाएको सुनौलो जीवनलाई बलि दिन युद्धमा गएका होइनौं । अव आउने अवस्था पनि वाध्यात्मक हुन्छ । अहिले हामीले भनिरहेका छौं अहिलेको सत्ताको चरित्र प्रतिकृयावादी भएकाले भोली यसले निम्त्याउने सम्भावना भनेकै सशस्त्र युद्ध, सशस्त्र संघर्ष नै हो । त्यो हिंसात्मक हुन सक्छ । त्यस्तो अवस्थामा जनमुक्ति सेना बनाएर सशस्त्र रुपमा लड्न तयार छौं भनेर घोषित रुपमै भनिरहेका छौं ।

यो केन्द्रीय जनपरिषद् त्यसकै लागि हो ?
अहिले नै त्यस्तो त होइन । भए त हामी घोषित रुपमै जान्थ्यौं । तर यदि सत्ता त्यो रुपमा आयो भने हामी हात बाँधेर बस्दैनौं । लिपुलेक माथि हमला भइरहेको छ, हस्तक्षेप जारी रहँदा यहाँका शासकहरु बोल्ने हिम्मत राख्दैनन् । कालोबजारी व्याप्त छ । जनताको पक्षमा बोल्ने कोही छैन । त्यसैले हामीले खुल्ला वैधानिक निकाय बनाउनु पर्छ भनेर केन्द्रीय जनपरिषद गठन गरेका हौं ।

तपाईले शसस्त्र युद्ध र समानान्तर सत्ताको सम्भवना पनि छ भन्नुहुन्छ तर अहिले होइन पनि भन्नुहुन्छ । भनेपछि त यो राजनीतिक रुपमा अस्तित्व धान्ने मेलो मात्र हो ?
यो देशमा प्रतिकृयावादी सत्ता स्थापना भएको छ, अर्को कुरा आम जनताले बुझ्ने कुरा हो हिजो १० वर्षसम्म माओवादी जनयुद्धमा थियो, समानान्तर सत्ता बनाएको थियो, दुई सत्ता, दुई सेना थिए । ८० प्रतिशत भूभागमा माओवादीको प्रभाव थियो । दुईले एकले अर्कोलाई सिध्याउन नसकेर सहकार्य गर्दै शान्ति प्रकृयामा आए । त्यो अनुसार सबै क्षेत्रमा आधाआधा र साझेदारी सत्ता हुनु पर्ने हो । तर त्यो नगरी एउटा पक्षलाई पूरै हात धुर्ने अवस्था बनाइयो ।

हो त्यही हात धुरे स्थिती आएपछि हामी सकृय छौं भन्ने संकेत दिनखोज्नु भएको हो ?
जनताले आफ्नो अधिकार मागेका थिए । त्यो अधिकार दिइएन । राष्ट्रियता माथिको हस्तक्षेप हल भएको छैन । ती हल नभएका कुरामा हामीले निरन्तर आवाज उठाउँदै आएका छौं । र अहिले जनताको निकायबाट आधिकारिक रुपमै उठाउन खोजेका हौं । तर यसरी नै एकलौटी रुपमा शासन गर्ने र जनताका अधिकार खोसेर उल्टो जनता माथि दमन गर्न खोजिन्छ भने अहिलेको सत्ताको अर्को बैकल्पिक सत्ताको चरित्र ग्रहण गर्न सक्छ । त्यो सम्भावनाको ढोका खुल्लै छ ।

त्यसो भए हिजोको जस्तै जनसत्ता, जनअदालत, अपहरण, नियन्त्रण, फैसला, कुटपिट त्यस्तै बुझ्नु पर्ने भयो होइन ?
हिजो त्यस्तो कुटपिट थिएन । बरु माओवादी अहिले कहाँ गयो, जनसत्ता कहाँ गयो भनेर जनताले खोजिरहेका छन् । हिजो माओवादी जनसत्ता हुने बेला जुवातास, जाडरक्सी, चोरी डकैती जस्ता विकृति विसंगती नियन्त्रण भएका थिए । अहिले माओवादी सत्तालाई विघटन गरेपछि समाजमा फेरी त्यही बलात्कार, त्यस्तै गुण्डागर्दी, हावी छ ।

जनसरकार, जनप्रतिनिधिसभा गठन गर्नुभयो । अव जनसेना पनि त गठन गर्नुहुने होला । त्यो कहिले हुन्छ ?
हामीसँग जनसेना त अलरेडी छ । हिजो शिविरमा बसेका ठूलो संख्याका जनसेना अहिले पनि पार्टीमै छन् । तर फेरी पनि आतंककारी, गुण्डागर्दी भनेर दमन गरियो भने जनसेना मात्र होइन युवाहरु जनमुक्ति सेना बनेर आउँछन् । प्रतिकृयावादी सत्ताले कसरी दमन गर्छ, जवाफ त्यही अनुसार हुन्छ । बन्दुकले दमन गरे प्रतीकार हातले हुदैन, बन्दुकले नै गछौं ।

तपाईले संयुक्त मोर्चा भन्नुभयो । यदि त्यसो हो भने त्यसमा को को छन् ? संयुक्त मोर्चाको दायरा त अलि फराकिलो हुन्छ । त्यसको अवधारणा त पार्टीभन्दा अलि बाहिर पनि हुन्छ होला ?
संयुक्त मोर्चा अहिले पनि बनाएका छौं । कोही साथी पार्टी भित्रका छन् कोही बाहिरका पनि । सबैलाई मिलाएरै बनाएका छौं ।

मुलुकमा यत्रो राष्ट्रिय संकट छ तपाईहरु एकल ढंगले जाने कुरा गर्दै हुनुहन्छ । यो वस्तुस्थितिसँग मेलखाने कार्यदिशा हो र ?
हामी एक्लै छैनौं । जनताको समर्थन छ ।

सरकार र दलहरु विदेशी हस्तक्षेपका विरुद्ध लड्छौं भनिरहेका छन् । तर तपाई अरुलाई दलाल र प्रतिकृयावादी भन्नुहुन्छ । तर कृयाकलाप त त्यसको विपरित देखिन्छ त ?
अहिले हेरेर मात्र हुन्न । यिनीहरु को हुन भन्ने कुरा संविधानसभा चुनाव वा संविधानसभा विघटन हुँदाको षडयन्त्रदेखिको नालिबेली हेरौं न ।

राजनीतिक दल वा व्यक्ति सच्चिन पाउँदैन ? तपाईहरु सधै ठिक अरु सधै बेठिक भन्ने त हुन्न होला ?
सच्चिने भनेको नीति कार्यक्रम र व्यवहारमा गएर हो । अहिले व्यवहारमा आउँदासम्म पनि उनीहरुको चरित्र दलाल नै छ । अहिले पनि भारतको एउटा पक्ष (प्रतिपक्ष) कांग्रेस आई र रअ सम्वद्ध निकलायले यहाँका शासक दलाललाई लदाई रहेको छ । अनि नाकावन्दीको नाममा सत्तापक्ष मोदी सरकार आइरहेको छ । यी दुई पक्षले यहाँका दलहरुलाई विरालोले मुसा नचाए जसरी नचाइरहेका छन् । त्यसैले मोदीको नाकावन्दीको विरोध यहाँका सत्तापक्षले गर्नु भनेको मोदिको विरोध कांग्रेस आईले गर्नु मात्रै हो । नेपाली जनताले होइन ।

तपाईले भनेकै कुरालाई आधार मान्ने हो भने पनि मुलुकको राष्ट्रियता गम्भीर संकटमा छ भन्ने त बुझिन्छ नि ?
छ त्यो त मैले भनिसके ।

त्यसो हो भने त दायरा अलि फराकिलो बनाउने होला नि ? देशको परिस्थिती एकातिर तपाईहको कार्यदिशा अर्को तिर पो हुने हो कि ?
यो दायरालाई फराकिलो बनाउनै पर्छ ।

अनि प्रतिकृयावादी, दलाल भनेर विभिन्न पदावलीको प्रयोग गरेर लाञ्छित गरेर हुन्छ ?
प्रतिकृयावादी भन्नुको अर्थ त्यसको सार बुझ्नु पर्छ । शब्दमा मात्र खेलेर होइन । हामीले त्यत्तिकै भनेका छैनौं । अहिलेको यो सत्ता र संविधानको चरित्र हेर्दै जानुस न ।संविधान जनताको पक्षमा त छैन नी । जनताको आँखामा छारो हालेर नक्कली संविधान दिएर, नक्कली संघीयता भनेर जनताको विरुद्धमा ल्याइएपछि त्यो त प्रतिकृयावादी सत्ता हो नि त । त्यो बुझेर मात्र भनेका हौं । नबुझि भनिएको होइन । संविधान आउने वित्तिकै किन मारामार भयो ? किन जनता र पुलिस मरे ?

त्यतिबेलासम्म त तपाईहरुको पनि खासै भूमिका देखिएन नि ?
हाम्रो भूमिका हुने ठाउँमै थिएनौं हामी । हामीलाई त्यो ठाउँमा राखेका छैनन् । राजनीतिमा भूमिका कसैले देला एउटा कुरा हो । भूमिका र स्पेश बनाउने अर्को कुरा हो । हामी हाम्रो तर्फबाट जनताको पक्षबाट बोलिरहेका छौं ।