सचित देवकोटा

एकपटक फेरि प्रमाणित भएको छ, नेपाल प्रभुकै शरणमा चलेको देश रहेछ।

नवनिर्वाचित सम्मानित उच्चपदस्थ पदमा आसिन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका मन्त्री परिषदमा रहेका उपप्रधानमन्त्रीहरु र सम्मानित मन्त्रीहरु नै यो प्रमाणित गर्ने महानुभाव हुनुहुन्छ।

हो, धर्मनिरपेक्ष राष्ट्र हुनुभन्दा पहिले नेपाल  हिन्दु राष्ट्र थियो र अहिले पनि सबैभन्दा बढी जनसङ्ख्या हिन्दु धर्म मान्दै आएका छ । धर्म संस्कृति व्यक्तिगत हुन, आफ्नो इच्छा अनुसार मान्न, जान्न पाइन्छ।

मैले बुझेको धर्म कर्म गर फलको आशा नगर भन्ने हाे । सत्य बोल, शाकाहारी बन अनि अरुको भलो गर भन्ने हो। धर्म धारण गर्ने गुण हो। चेतनामा जन्मेको मानव भाव व्यवहारमा उतार्नु नै धर्म हो। तर धर्मको अर्थ त यहाँ फरक रहेछ। धर्म त यहाँ कर्मकाण्डलाई मानिने रहेछ। सायद म गलत पो हुँ कि !

पूर्व प्रधानमन्त्री प्रचण्ड पनि एकपटक खै को बाबाको शरणमा गएको चर्चा थियो कुनै बेला। क्रान्तिकारी ब्याकग्राउण्डबाट आएका उनको यस्तो व्यवहार सायद नौलो लाग्दो हो। यसपटक प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी आरजु, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्र कार्की आदी हाम्रो होनाहार मन्त्रीगणहरुलाई सायद कर्ममा विश्वास नभएर होला, मनमा डर भएर होला, भाग्यको इशारामा नाच्न महाराजको शरणमा जानुभएको !

हो, विश्वास गर्नुस् नगर्नुस् वहाँहरुनै हाम्रा सरकार हुन। वहाँहरुले नै बनाएका नियम कानुन अनि व्यवस्थामा हामी जीवनयापन गर्दैछौ । तपाईलाई डर लाग्ला, उहाँहरुनै हो तपाईलाई अवसर सिर्जना गर्ने अनि कर्म गर्न सिकाउने ।

ठूलाको सिको गर्ने चलन हाम्रोमा छ। ठूलाबाट हामी सिक्ने गर्छौ। म त भन्छु, छोड्नुस् कामधन्दा, जानुस् बाबा, सन्त र महाराजको शरणमा, देशका प्रधानमन्त्री त उहाँबाट आशिर्वाद लिनुहुन्छ। के थाहा, तपाई जानुभएन भने ठूलै कुर छुट्ने पो हो कि ?

हामीले बिर्सेको एउटा कुरा। गौतम बुद्धले रिस, लोभ, इर्ष्या र डर मनमा राखे मानवले कहिल्यै मुक्तिको मार्ग पहिल्याउन सक्दैन र जीवनमा सहि निर्णय लिन सक्दैन भनि उपदेश दिएको हजारौं वर्ष वितिसकेको छ। तर सुन्नुस् न अचम्म त के छ भने, बुद्धले जसलाई लागि यी उपदेश दिएका थिए ती त्यो बेला पनि मानव नै कहलिन्थे अहिले पनि मानव नै छन्।

पहिले जस्तो मानसिक र शारिरीक संरचना थियो अहिले पनि उहि छ। अर्थात जे बुद्धले त्यो समय भनेका थिए अहिले पनि उही मानवको शरिरमा घटित हुन्छ, त्यो समयमा पनि रिस गर्ने मानिस आफु पहिले तनावमा आउथ्यो अनि अरुलाई तनाव दिन्थ्यो र अहिले पनि उही छ। त्यो बेला पनि डराउने मानिसले कुनै सत्कर्म गर्न सक्थेन, न अहिले नै सक्छ। यी मानवीय भावना र व्यवहार अहिले पनि मानसिक र शारिरीक व्यवहारमा जोडिएका छन्।

तर, रोचक कुरा सुन्नुस् न , लोकतन्त्र आएपछि देश बन्ला भनेर वर्षौ देखि ल्यापटपको स्क्रिनमा समाचार लेख्न मैले जति नजिकबाट राजनीतिक गतिविधि नियालेको छु नि, नकारात्मक नबुझ्नुस्, तर देश बन्दैन । तपाईलाई लाग्छ मैले हजुरबुबा भन्नुपर्ने व्यक्तिको हातमा देशको बागडोर जाँदा उनले नातिको जमानामा विश्वमा भएका परिवर्तन बुझेर नातिको लागि केही उल्लेख्य गर्न सक्छन् ? हजुरबुबाहरुले आफ्ना अनुभव सेयर गर्छन्, आफ्नै हजुरबुवाको कथा सुन्दै हुर्किएको हुँ म।

मलाई थाहा छ, जाने बुझेका अनुभवी व्यक्तिहरुमा भन्ने कुरा धेरै हुन्छन् तर याद गर्नुस् भन्नेकुरा धेरै हुन्छन् गर्न कुरा हुँदैनन्। प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री केपी ओली यी कुरामा उस्तै लाग्न थालेको छ। कम बोल्ने तर कर्ममा विश्वास नगर्ने अनि गफ पेल्ने र जोक चुट्किला सुनाउने यी दुई महानुभाव कुनै तराजुमा राख्दा कमबढी हुँदैनन्।

जब कुनै देशको प्रधानमन्त्री निर्वाचित हुनासाथ कुनै अमुख बाबाको शरणमा जान्छन् भने के बुझ्ने ? के प्रधानमन्त्रीलाई त्यस्तो आस्था छ बाबा प्रति ? के प्रधानमन्त्रीले कर्ममा विश्वास गर्दैनन् ? के प्रधानमन्त्री भाग्यमा बढी विश्वास गर्छन्? के प्रधानमन्त्रीलाई आफुमाथी विश्वास छैन ? के प्रधानमन्त्रीले आफ्नो पदिय मर्यदा बिर्सिए ? के कम्युनिस्ट ब्याकग्राउन्डबाट आएका उपप्रधानमन्त्रीले बिर्सिए आफ्नो कम्युनिस्ट धारणा ? के प्रधानमन्त्री र मन्त्रि आफैले गरेर देखाउने निडर व्यक्ति नभएकै हो?

हो भने आउनुस् हामी सबै एकजुट होऔ। बाबाको शरणमा जाऔँ। जय सन्त महाराज !