२५ साउन, टोकियो । अध्ययनका लागि दुई वर्षअघि जापान आएका गोरखाको गण्डकी गाउँपालिका–७ चुलिङका २६ वर्षीय डम्मरबहादुर गुरुङको मंगलबार कोवे सहरमा मृत्यु भएको छ ।

सोमबार अबेरसम्म काम गरी डेरामा फर्केका गुरुङ खाना खाई सुतेका थिए । मंगलबार बिहान चर्को स्वरमा चिच्याएलगत्तै बोलाउँदा नबोलेपछि उपचारार्थ कोवेको स्थानीय च्युवो नागरिक अस्पतालमा लगिएको थियो ।

शरीरमा रगत र पानीको मात्रा कम भएर एक्कासि श्वासप्रस्वासमा समस्या भई मृत्यु भएको हुनसक्ने अस्पतालले जनाएको छ । गुरुङको शव परीक्षण प्रतिवेदन आइसकेपछि नेपाली राजदूतावासलाई खबर गर्ने भन्दै कला प्राविधिक विद्यालयले गुरुङको जापानमा आफन्त नभएपनि परिवारलाई सहकर्मीमार्फत खबर गरिसकेको जनाएको छ ।

यता टोकियोस्थित नेपाली राजदूतावासले भने घटनाबारे जानकारी नआएको बताएको छ ।

गतसाता पनि नवलपरासीका ३१ वर्षीय हृदयेश जिसीको जापानको गुम्माको ओइजिमु सहरमा सडक दुर्घटनामा परी निधन भएको थियो । रासस