२० पुस, रत्ननगर (चितवन) । तरकारी बोक्ने बोलेरो जिपको ठक्करबाट चितवनमा एकजना प्रहरी जवानको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।

गएराति करिब ८ः३० बजे साइकलमा हिँडिरहेका बेला जिपको ठक्करबाट जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुरमा कार्यरत ३० वर्षीय प्रहरी जवान इनम दवाडीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

सो दुर्घटनामा परी मोरङ घर भई सोही शिक्षालयमा कार्यरत ३३ वर्षीय सुमन घिमिरे गम्भीर घाइते भएका छन् । उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

चितवनको रत्ननगरबाट तरकारी बोकेर काठमाडौँ जाँदै गरेको ना ३ च ८३१ नंको बोलेरो जिपले साइकलमा सवार प्रहरीलाई ठक्कर दिएको हो । जिप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको र शवलाई भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।