‘तपाइको जीवन तपाइकै हातमा छ’। ‘कर्म गरे फल मिल्छ।’ यस्ता भनाइहरु जतिनै सैद्धान्ति लागेपनि यी वास्तवमै सत्य अनि प्रयोगात्मक छन्।

एक मित्रले भने, ‘मलाई थाहा छ रक्सी पिउँनु ठिक होइन, तर पनि छोड्न सक्दिन। यसको वेफाइदा जान्दछु, अहँ तर छोड्न सकिन। किन?’ मैले भने, ‘तपाईलाई थाहै छैन।’ उनले दोहोर्याए, ‘होइन मलाई यसबारेमा सबै थाहा छ।’, मैले भने, ‘तपाईलाई थाहा छैन, जे थाहा छ भन्नुभएको छ, त्यो तपाइले मान्नु भएको हो, कतै पढ्नुभयो, सुन्नुभयो, वा देख्नुभयो। तपाईले आफैले जान्नु भएन। जान्नु र मान्नु नितान्त फरक हुन।’ तर जान्ने कसरी ? अनि आफ्नो जीवनको बागडोर समाल्ने कसरी?

पुराना कथाहरु भन्छन्, ‘कण कणमा भगवानको वास छ’। अर्थात सर्वत्र। यो सर्वसिद्ध तथ्य हो कि शरिरका हरेक कोष कोषमा जीवन छ। तर यी कुराहरु हाम्रो अनुभवमा उत्रदैन। ‘म’ अर्थात यो मेरो शरिर, न कि अनगिन्ती कोषको संग्रह। सहि हो र?

यी कुराहरु किताब कि कथामै बढी वास्तविक भान हुन्छ। तर के जीवनमा ठहराव ल्याउन यी कुराहरु अनुभव हुन जरुरी छैन र? कुनै पुस्तकमा अभ्यस्त हुन त्यसका पाना-पाना छिचोल्नु पर्छ, पाना-पानाका प्रत्येक अक्षर बुझ्नु पर्छ। के यो शरिर र मस्तिष्कको अक्षर-अक्षर बुझ्न जरुरी छैन?

चर्चित योगी खप्तड स्वामीको एक पुस्तक छ, ‘विचार विज्ञान’। जसमा भनिएको छ विचारको शक्ति हुन्छ, सहि इच्छा राख्न सक्ने र विचारमाथी काबु हुने हो भने जीवनमा कायपलट आउँछ। तर कसरी? यसो गरे त्यसो हुन्छ, तर यसो गर्ने कसरी? विचारमा काबु पाउने कसरी?

आफ्नो शरिर, मस्तिष्कको सत्यता बुझ्ने धेरै तरिका छन्। जबसम्म के भइरहेछ भनी भेउ पाउन सकिदैन तबसम्म शरिर र मस्तिष्क काबुमा आउँदैन। के भइ रहेछ भनी थाहा पाउने तरिका अनेकन छन्। शरिर र मस्तिष्क बारे पढेर, आफ्ना जीवनका अनुभव र अन्यका अनुभव तुलना गरेर आदि आदि। तर यी सबै मान्ने कुरा हुन। सत्य हुन, तर तपाइले मान्नु भएको सत्य। किनकी पढेका, सुनेका कुरा तपाईका कुरा होइनन्, तपाइको अनुभव होइन। जुन आफ्नो अनुभव होइन, त्यसले जीवनमा परिवर्तन ल्याउँदैन। परिवर्तन ल्याउँदैन अर्थात जीवन उत्रिएन, प्राक्टिकल भएन।

सृष्टिकै सबैभन्दा शक्तिशाली मस्तिष्क र अलौकिक क्षमताको शरिर छ, तर भावना र विचारको पोको भित्र जीवनको सफलता खोज्नु असम्भव कुरा हो। यहि प्रयासमा खर्बौं खर्बले जीवन त्यागे, अनि खर्बौ खर्ब यहि प्रयासमा छन्। के तपाईको जीवनको यहि गति हुनेछ? वा आफ्नो बारेमा जानेर, जीवनमा साच्चै खुसी भित्र्याउन चाहनुहुन्छ?

के गर्ने?
तपाईको अनुभव सबै भित्री हुन। तपाइले देख्ने, सुन्ने विषय बाहिर छन्, तर अनुभव सबै भित्र हुँदैछ। जहाँ अनुभव हुँदैछ त्यहाँ किन त्यसो भइरहेछ जान्न जरुरी हुन्छ। झट्ट हेर्दा लाग्छ गाडीका चक्काले गाडी कुद्दै छ, तर त्यसको शक्ति त इन्जिन बाट आउँदैछ। बरु चक्का पञ्चर भए गाडी गुड्छ तर इन्जिनको सानो खराबीले पनि गाडी डिक चल्दैन। त्यस्तै लाग्छ कि घर, पैसा, जागिर, जीवनसाथी नभइ जीवन चल्दैन, खुसी मिल्दैन, तर जसरी गाडीमा पाङग्रा आवश्यक हुन्छ तर इन्जिन महत्वपूर्ण हुन्छ, त्यसरी नै यी बाहिरी देखावट आवश्यक त हुन्छ तर भित्री इन्जिन प्रमुख महत्वको हुन्छ।

अब यो भित्री इन्जिन के हो?

शरिर र मस्तिष्क नश्वर छ। अर्थात समय आएपछि त्याग्नु पर्छ। त्यसो भए तपाइ को हो ? शरिर कि मस्तिष्क? के यो पढिरहने तपाइ हो ? शरिर र मस्तिष्क तपाई होइन भने कहाँ हुनुहुन्छ तपाई ? वास्तविक ‘म’ अर्थात ‘आत्मा’, ‘चेतना’ जे नाम दिनुस् कहाँ छ ? थाहा छैन। जुन कुरा थाहै छैन, त्यसलाई कसरी खोज्ने अनि कहाँ खोज्ने? आत्माको खोजीमा हुनुहुन्छ भने तपाइ पहिल्यै गलत बाटो गइसक्नुभयो। त्यसैले आत्मा नखोजौ। हेरौ के छ हामीसंग।

हामीसंग के छ?

हामीसंग शरिर छ, जहाँ अनगिन्ती कोषिका छन्, हरेक कोषमा हरेक क्षण बदलाव आइरहेछ। हरेक कोषम हरेक क्षण कुनै न कुनै रासायनिक प्रतिक्रिया, विद्युत चुम्बकीय प्रतिक्रिया भइरहेछ।

त्यस्तै हामीसंग मस्तिष्क छ, जहाँ अनगिन्ती न्युरोन छ, जहाँ हरेक क्षण कुनै न कुनै विचार उत्पन्न भइरहेछ, केही न केही मानसिक प्रतिक्रिया चलिरहेछ, चिन्तन चलिरहेछ।

अर्थात यो शरिर र मस्तिष्क निरन्तर परिवर्तन भइरहेछ। यो पढ्न थाल्नु भएको तपाइ र अहिलेको तपाइको शरिर
र मस्तिष्क एउटै होइन। तपाई परिवर्तन भइसक्नु भयो।

तर यो परिवर्तन तपाइले अनुभव गर्नु भएको छैन। विज्ञान जान्नु भएको छ, त्यसैल स्वीकार गर्नुहुन्छ, कुरा सहि हो पनि भन्नु हुन्छ, तर अनुभवमा छैन। त्यसैले परिवर्तन भइरहेको सबैकुरा सधै रहने झै हडपि रहन मन हुन्छ, कुनै प्रिय कुरा नष्ट भइहाले रोइकराइ गर्नुहुन्छ। आफ्ना प्रियजन गुमाउने, कमाइ गुमाउने, स्वास्थ्य गुमाउने, अनि अन्य धेरै कुरा गुमाउने डरले सहि कदम चाल्न डराउनु हुन्छ, हिचकिचाउनु हुन्छ। जन्म पछि मरण हुन्छ थाहा छ, देख्नु पनि भएको छ, सबै भौतिकवस्तुहरु नष्ट हुन्छ भन्ने पनि थाहा छ, तापनि तीनै वस्तु नहुँदा दुखी हुनुहुन्छ? किन?

किनकी सबैकुरा परिवर्तनशील छ, सधै एकैनास हुदैन भन्ने केवल तपाईको चिन्तनमा छ, बुझाइमा छ, मनमा छ। तर यहि चिन्तन, बुझाइ अनि मन पनि त परिवर्तनशील छ। परिवर्तन भइदिन्छ, अनि तपाई दुखी भइदिनुहुन्छ। त्यसैले यी कुरा सहि तवरले जान्न, विचार र मनबाट थोरै माथी उठ्न जरुरी छ। अनुभव जरुरी छ। स्वयं जान्न जरुरी छ। अनि मात्र परिवर्तनको अर्थ जानिन्छ अनि परिवर्तनशील वस्तु समातेर दुख मनाउमा, डर र त्रासमा, हिच्किचाहटमा जीवन फालिदैन। साच्चैको स्वतन्त्र जीवन बाँचिन्छ, आर्थिक, पारिवारिक र आध्यात्मिक तवरले छलाङ मारिन्छ।

के हो त बाटो?
शरिर र मस्तिष्कको सच्चाइ जान्ने केवल एउटै बाटो छ। बाटोको हाँगा धेरै छ तर बाटो एउटै छ। योगा वा ध्यान। एक्लै जन्मेको र एक्लै मर्ने भएपछि जीवनको यथार्थ पनि त एक्लै जान्न जरुरी छ। किनकी अर्काको सत्य केवल तपाईको लागि कल्पना हो, स्वयं तपाईले अनुभव गर्नु भएको छैन भने जतिसुकै घतलाग्दो, यथार्थ, सत्य कुरा भएपनि तपाईलाई के फरक पार्छ र ? सुन्दा केहीबेर ‘अँ हो है’ हुन्छ तर अनुभवमा छैन, जीवनमा  उत्रिदैन।

ध्यान वा योगा आफुलाई बुझ्ने वैज्ञानिक बाटो हो। (यसको वैज्ञानिकता र यसबारेमा विभिन्न चरणमा गरिएका नयाँ अध्ययन र प्रयोगको बारेमा अर्को लेखमा) यसले शरिर र मस्तिष्कका घटनाहरु नजिकबाट नियाल्ने अवसर दिन्छ। विचारले शरिरमा र शरिरले विचारमा पार्ने प्रभाव अनुभुत गराउँछ। कर्म के हो, कर्मको फल कसरी आउँछ अनि किन आउँछ, सो अनुभुत गराउँछ।

ठिक वा बेठिक, सहि वा गलत भनी मुल्यांकन गर्ने वैचारिक भुमरीबाट निकाल्छ। किनकी विचार केवल तपाइले संग्रह गर्नु भएका पुराना याददास अनि अनुभवबाट आउँछ। ध्यान वा योगा विचारको होइन अनुभवको बाटो हो। त्यसैले यहाँ विचार, कल्पना वा याददासको आधारमा काम गरिदैन। गरिन्छ, भने सो ध्यानले केवल समाधी अर्थात एकाग्रता मात्र ल्याउँछ। वास्तविता अनुभव गराउँदैन।

तर पलेटी मारेर, आँखा चिम्म गरेर नयाँ अनुभव कसरी हुन्छ? के हो वास्तविकता भनेको? यसको उत्तर यहाँ लेख्न सकिदैन। किनकी यो कुनै वैचारिक बाटो होइन, नितान्त अनुभवको बाटो हो। स्वंयम नै तयार हुनुपर्छ, प्रयोगात्मक हुनुपर्छ, आफै भाग लिनु पर्छ। तपाइले खानुभएको मिठो तरकारीको मिठास अर्कोलाई कसरी बयान गर्न सम्भव छ र? बयान होइन त्यो तरकारी नै उसलाई ख्वाउनु पर्छ, कुनै बयानको आवश्यकता पर्दैन, मात्र अनुभव आवश्यक छ।