१२ जेठ, काठमाडौं ।
आगामी जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन पुनः सार्ने गृहकार्य अगाडि बढेको छ । सर्वोच्च अदातलले स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वनय नगर्न दिएको अन्तरिम आदेश र मधेसी मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गरेपछि सत्तारुढ दलबीच चुनावको मिति केही सार्ने गृहकार्य भएको हो ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभपाति शेरबहादुर देउवाबीच निर्वाचनको विषयमा गम्भीर छलफल भएको छ । सर्वोच्चको फैसला र मोर्चाको आन्दोलनको कार्यक्रमको बीच जेठ ३१ गते नै निर्वाचन गर्न कठिनाई हुने भएकाले कम्तिमा दुई साता मिति सार्ने विषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो । स्रोतले भन्यो,‘दुई नेताबीच निर्वाचनमा मोर्चा नआउने हुँदा द्धन्द्ध सृजना हुने भएकाले सहमतिमा ल्याउनको लागि केही दिन मिति सारौ भन्ने मोटामोटी सहमति भएको छ ।’

सरकारले २२ स्थानीय तहको संख्या बढाउने निर्णय गरेपछि त्यसैलाई कारण देखाउदै एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । निर्वाचन आयोगले सरकारले थपेको २२ स्थानीय तहमा अहिले निर्वाचन गर्न नसक्ने बताएको भोलिपल्ट अथार्त शुक्रवार सर्वोच्चले पनि उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि सरकार थप तनाबमा परेको छ ।