१८ मंसिर, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने कदम अगाडि बढाउँने तयारी गरेको भन्दै यस विरुद्ध कुटनैतिक रुपमा समर्थन जम्मा गर्न प्यालेष्टिनी नेताहरूले आइतबार प्रदर्शन गरेका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने बिषयलाई आगामी बुधवार घोषणा गर्ने तयारी रहेको र अमेरिकी राजदूतावासलाई जेरुसेलम सार्नेबारे आगामी सोमबारसम्म निर्णय लिनसक्ने बताएका छन् ।

यसलाई लिएर प्यालेष्टिनी राष्ट्रपति महमद अब्वासले विश्व नेताहरूसँग फोनमार्फत् सल्लाह गरिरहेको राष्ट्रपतिका कुटनीतिक सल्लाहकार माज्दी अल खालिदीले  बताएको एएफपीले जनाएको छ । राष्ट्रपतिले अहिलेसम्म फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्राँे, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, अरब लिग तथा अर्गनाइजेसन अफ इश्लामिक कोअपरेसनका सदस्यसँग छलफल गरिसकेको खालिफीले बताए ।

सूचना तथा सस्ंकृति विभागका प्रमुखसमेत रहेकी आश्रावीले अमेरिकाले राजदूतावासलाई जेरुसेलम सार्ने कदमले समग्र यस क्षेत्रमा अस्थिरता निम्त्याउने, शान्ति प्रक्रियालाई खल्बलाउने, यस क्षेत्रमा अमेरिकी भूमिकालाई अयोग्य सावित गर्ने तथा अतिवादको नयाँ लहर सिर्जना गर्ने भनी शनिबार उक्त तयारीबारे विरोध जनाएकी थिइन् ।

“मलाई विश्वास छ यस्तो कदम कसैले पनि लिने छैन । यो कदम अत्यन्तै गैरजिम्मेवार तथा खतरनाक सावित हुनेछ,” उनले भनिन । “राजदूतावास सार्ने कदम एकदम खतरनाक हुनेछ र धार्मिक बिषयका रूपमा उदाउने छ ।”