सचित देवकोटा 

बुधबार पूर्व राजा ज्ञानेन्द्रले विज्ञप्ती जारी गरे। विज्ञप्तीमा सन्देश थियो- देशमा बाह्य हस्तक्षेप असैह्य हुने गरेर बढ्यो र राष्ट्रियता कमजोर भयो। राजसंस्था अझै विकल्पमा छ। शब्द जे राखिए पनि उनको विज्ञप्तीको भाव र उदेश्य यही हो।

विज्ञप्तलाई विश्लेषण गर्दा ज्ञानेन्द्र शाहका बाक्ला भारत भ्रमण र चीन भ्रमणलाई भुल्नु हुँदैन्। घुम्न मन लागेर वा कुनै यात्रा संस्मरण लेख्न उनी भारत, चीन वा तेस्रो मुलुक भ्रमणमा जाने गरेका होइनन्।

देश भित्रै पनि ज्ञानेन्द्र शाहका गतिविधी र भ्रमणलाई पृष्ठभुमिमा राकेर नियाल्दा ज्ञानेन्द्रको विज्ञप्तीको अर्थ यसरी लगाउन सकिन्छ।

विज्ञप्तीको चिरफार

 चिरफार १

आज हामी जून माटोमा जन्मिएर कर्म क्षेत्रमा क्रियाशील छौं, त्यो श्रद्धा र आस्थाका धरोहर पूर्खाहरुको वलिदान, अदम्य साहस र रगत पसिनाबाट आर्जित पवित्र भूमि हो । हामीलाई सिंगो, संगठित, अविभाजित, सार्वभौम नेपाल दिएर जाने पूर्खाहरुले सूम्पिएको राष्ट्रलाई जोगाउँदै समृद्ध, समून्नत र सूदृढ बनाउनू हाम्रो मुल दायित्व एंव कर्तव्य हो ।

माथि उल्लेखित पुर्खा मेरा जिजुबाजे पृथ्वीनारायण शाह हुन। त्यसैले उनले जसरी समाजको वर्गिकरण गरेका थिए त्यसमा दायाँ बायाँ नगरी नेपाललाई चार वर्ण छत्तिस जातकै साझा फुलवारीमा सिमित राख्नु पर्छ। खबरदार एउटा पनि नयाँ फूल यो माटोमा नफुलोस। हाम्रा पुर्खाले रगत र पसिना जो बगाएका छन् । यो हामी सबैको कर्तव्य हो।

 चिरफार २ 

आज नेपाली बिचको सामाजिक सद्भाव मेटिदैं छ भने, तराई, पहाड र हिमाल माझको ऐक्य भाव तोड्ने भगीरथ प्रयत्न भइरहेको छ । ती सबै कार्य क्रान्तिकारी, परिवर्तनकारी, वलिदानी आदि शव्द भावको दूरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य, अशोभनीय मात्र नभई, असैह्य पनि बनि रहेको छ ।

हो हामीलाई असैह्य भएको छ। हुँदा खाँदाको राजसस्था गयो। हाम्रो पद प्रतिष्ठा मान गयो। भारत देखि चीनसम्म अनेक शक्ति केन्द्र धाउँदा पनि सत्ता फर्किएन। यो असैह्य छ । क्रान्तिकारी, परिवर्तनकारी, वलिदानी शब्द नै गलत हुन। किनकी हाम्रा शब्दकोशमा यी शब्द छैनन् पनि। हामीले बारम्बार गरिेने भारत भ्रमणलाई यसमा जोड्न मिल्दैन। हामी त भारतप्रति रहेको सदभाव व्यक्त गर्न त्यता जाने गरेका छौ।

चिरफार ३

निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु किमार्थ बलिया हून सक्दैनन् । इतिहास कलंकित गर्दै निश्चित, निहित स्वार्थ पुरा गर्न गरिएको कार्यहरु कदापि प्रसंशित हून सक्दैनन् ।

हामीले उ बेलामा सबै राजनैतिक दलका नेतालाई थुनेर पनि निषेध गरेका थिएनौ। कैदमा पनि उनीहरु राजनीति गर्न स्वतन्त्र थिए। हामीले सञ्चारका सबै माध्यमलाई केही समय रोकेर भए पनि विरोध गर्ने समय दिएकै थियौँ। आफैले सत्ता हत्याएर शासन गर्ने हाम्रो उदेश्य थिएन त्यो त दलहरु असफल नहुन बरु हामीले दोषको भारी बोकम्ला भनेर चालिएको पवित्र कदम थियो । २०४६ सालको प्रतिशोध थिएन ।‍ पुन: हाम्रो सत्ता आएमा कसैलाई निषेध गरिनेछैन् भारत र चीनलाई अझ बढि स्वतन्त्रता दिइनेछ।

 चिरफार ४ 

दूर्भाग्यवस आजको सन्दर्भमा वाह्य शक्तिको अनूचित प्रभावमा अस्थाथी सत्ताहरु हावी गराएको छ भने, स्थाथी सत्ता र लौकिक सत्ता क्रमशः धूमिल पारिएको छ । अझै पनि जनताका आस्थाहरु ढलेका छैनन् । नेपाली मन मतिष्कमा देशभक्तिको भावना ढलेको छैन ।

धेरै पटक भारत पुगे’सी हामीले यही बुझे’छौ। त्यहाँ शक्तिकेन्द्रसंग उठबस गरियो अनि थाहा भयो शक्ति कहाँबाट आउँदो रहेछ। यहाँ स्थायी सत्ता भनेकै हामी हो जसलाई अहिले धूमिल पारिएको छ। हामीले भारत गएर रोइकराइ गर्दा पनि यो फिर्ता गरिएन्। तर हाम्रो आशा अझै मरेको छैन्। व्यवहारमा नभए पनि वक्तब्य जारी गर्ने बेलामा मन र मस्तिष्कमा देशभक्तिको भावना टुप्लुक्क आइहाल्छ।

 चिरफार ५

राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको छ भने, हामी मरे पनि नेपाल बांचिरहोस् भन्ने संकल्पबाटनै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं । समय भडकी सकेपछि पश्चातापले कूनै अर्थ राख्दैन ।

यो हाम्रो धम्की होइन चेतावनी हो। समय भड्किएला। अनायसमै गुमेको हाम्रो राजसस्था र सत्ता हामीलाई चाहिएको छ। एउटै देश, एउटै सत्ता, एउटै राजा र एउटै केन्द्र आउँदा देशमा आउँछ एकता, अखण्डता अनि अविभाग्यता। हामी मरेपछी पनि नेपाल बाँचिरहोस भन्ने संकल्पबाट नै यो आएको हो। हामी भनेकै नेपाल र नेपाल भनेकै हामी हो।  हाम्रा पुर्खाले दु:खले आर्ज्या मुलुक हो यो। हामी नै नरहे केको नेपाल रहला ?

यो पढ्नुस।

यो पढ्नुस्: माओवादीदेखि भारतसम्म यसरी खनिए पूर्व राजा ज्ञानेन्द्र

बाबुराम क्रुद्ध-ज्ञानेन्द्रलाई छुट कहिले सम्म ?