३१ जेठ, भीमदत्तनगर ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालमा भने ससुरा–ज्वाइँबीच कडा प्रतिस्पर्धा हुने भएको छ । स्थानीय तहको निर्वाचनका लागि सो वडामा नेपाली काँग्रेसले गजेन्द्र चन्दलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । भारतीय सेनाबाट अवकाश पाएपछि सक्रिय राजनीतिमा लागेका चन्द हाल काँग्रेसका वडा सभापति पनि हुन् ।

फरक पार्टी भएकाले उनले ससुरा–ज्वाइँ बीचको प्रतिस्पर्धालाई सामान्य रुपमा लिएको बताए । दुई हजार ९७२ जना मतदाता रहेको हल्दुखालमा नेकपा (एमाले)ले गणेशबहादुर चन्दलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । गणेशबहादुर चन्द काँग्रेस उम्मेदवार गजेन्द्र चन्दका सहोदर छोरी ज्वाइँ हुन् । नेकपा (माओवादी केन्द्र)बाट शङ्कर कुँवर वडाध्यक्षका उम्मेदवार रहेका छन् ।

“मलाई छोरी आएर चुनावमा नलड्न सुझाएकी थिइन्,” अध्यक्ष पदको उम्मेदवार गजेन्द्र चन्दले भने, “मैले यो पार्टीगत कुरो हो भनेर इन्कार गरेँ ।” उनले आफूले ज्वाइँलाई प्रतिस्पर्धाबाट पछि हट्न हालसम्म आग्रह नगरेको बताए ।

“ज्वाइँ–ससुरालाई एउटै पदमा प्रतिस्पर्धा नगर्न हामीले सम्झायौँ”, हल्दुखालका स्थानीय तथा हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष मदन चन्दले भने, “तर सहमतिमा ल्याउन सकेका छैनौँ ।”