१५ भदौ, काठमाडौं ।

राजनीतिमा वर्ग शत्रु र वर्ग मित्रको खुबै चर्चा हुन्छ । त्यसमा पनि यस्ता शब्दावली कम्युनिष्टहरुको भाषा र भाषणमा खुबै प्रयोग गर्छन् । तर कुनै पनि शक्ति दिर्घकालिन दुष्मन वा मित्र हुँदोरहेनछ भन्ने फेरी एक पटक पुष्टि भएको छ ।

कुनै समय नेकपा माओवादीका लागि नेपाली कांग्रेस सबैभन्दा ठूलो वर्ग दुष्मन थियो, अहिले त्यही त्यति बेलाको नेतृत्वको कांग्रेस उसका लागि वर्ग मित्र भएको छ । घोषित रुपमा त होइन तर सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी माओवादीका लागि वर्ग दुमष्न जस्तै भएको छ ।

त्यो भाषणमा भन्ने गरेको जस्तो व्यवहार न चुनावमा देखियो, न सरकार गठनमा, नत अरु बेला नै । भन्ने गरिएको जस्तो हुँदो हो त सरकार कम्युनिनष्ट पार्टीहरुको बन्थ्यो होला वा कांग्रेस–राप्रपा र मधेसवादी दलहरुको । तर यहाँ ठिक उल्टो छ ।

भर्खरी स्थानीय तहका दुई चरणका निर्वाचन सम्पन्न भए, त्यहाँ राष्ट्रिय स्तरमा एमाले र माओवादीको कतै गठबन्धन भएन । न त कांग्रेस र राप्रापा अनि मधेसी दलको नै भयो ।

बरु ठिक उल्टो कांग्रेस र माओवादीबीचमा दरिलो गठबन्धन भयो । त्यसैगरी एमाले र राप्रपाको बीचमा अनि नयाँ शक्ति र संघीय समाजवादी फोरमको बीचमा । जवकी सिद्धान्तका हिसावले यी दलहरुको विचार कतै छेउटुप्पो मिल्दैन ।

सरकारमा रहेका कांग्रेस र माओवादीको गठबन्धन भरतपुर हुँदै पत्रकार महासंघको चुनावसम्म आइपुग्दा झनै दरिलो बनेको छ । अनि दुई कम्युनिष्टको सम्बन्ध झण्डै पानी बाराबारको अवस्थामा ।

स्थानीय तह तेस्रो चरणको चुनाव मुखैमा आएको छ । त्यहाँ पनि सिद्धान्त अनुसारको तालमेल नहुने पक्का भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बरु कांग्रेस र राजपासँग चुनावी तालमेल गर्न सकिने भएपनि एमालेसँग त्यो सम्भव नै नरहेको बताउँछन् ।

हेर्नुस भिडियोः

केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न महत्वपूर्ण भूमिका खेलेर आफू अनि आफू पछि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै प्रचण्डसँग एमाले रुष्ट छ । न त माओवादीले नै एमालेलाई नजिकको शक्ति ठान्छ ।

तर दुई वटा चुनावमा तालमेल गर्दै आएको कँंग्रेस र माओवादी यो सम्बन्ध अझै दिर्घकालसम्म लैजाने औपचारिक रुपमा घोषणा गरेका छन् । त्यसैले यो उनीहरुको घोषणा कम्तिमा पनि प्रदेश सभा र प्रतिनिधि सभाको चुनावसम्म जाने पक्का भएको छ । त्यसपछि फेरी कस्को प्रधान शत्रु को बन्ने हो ? भन्न सकिन्न ।