३० भदौ, सर्लाही ।

झमझम पानी, मोबाइल भिज्ने डर । तर प्रचण्डको तस्बीर र भाषणको भिडियो बनाउने रहरका अगाडि प्रतिकूल मौसमको अर्थ रहेन ।

सर्लाहीको हरिवनमा निकै ठुलो वर्षा भइरहेको अवस्थामा प्रचण्ड मञ्चमा उक्लिए । अनि एकाएक देखा परे स्मार्टफोनहरू । तस्बीर लिन चाहनेहरूमा पुरुषभन्दा महिलाहरू बढी रहर गरिरहेका थिए ।

‘ओ दाईं छेक्कियो के, अलि छेउ सरिदिनु न’ प्रचण्डको छेउमा उभिएका सुरक्षाकर्मीसँग एक जना महिलाले अनुरोध गरिन् । सुरक्षाकर्मी पर सरे पनि, तर ती महिलाले फोन तेर्स्याउन नपाऊँदै अर्की महिला भीडलाई पेलेर अगाडि पुगिन् ।

पहाड़ी, मधेशी, मुस्लिम र जनजाति समुदायको मिश्रित बसोबास भएको हरिवनमा प्रचण्डलाई हेर्न र भाषण सुन्न बिहान ८ बजेदेखि नै जनता झूम्मीएका थिए । प्रचण्ड ९ बजे यहाँ आइ पुगे तर ठूलो पानी परेकोले तत्काल कार्यक्रम सुरु हुन सकेन ।

नेता डाचाराज वाग्ले, मेयरका उम्मेदवार कमल बुढाथोकिलगायतले प्रचण्डलाई छेउकै सामुदायिक अस्पतालको कार्यालयमा एकछिन ओत लाग्न लगेर गए ।

पानी रोकिने छाँट नभएपछि प्रचण्डले जनतालाई सम्बोधन सुरु गरे र सुरु भयो तस्बीर र भिडियोको शृंखला ।

मधेशको हरिवनको दृश्य सबै ठाऊमा उस्तै देखिन्छ । भाषणभन्दा पनि फोटो र भिडियो खिच्ने रहर । धनुषाका केही ठाऊँमा स्मार्टफोन नहुनेहरूले पुरानो एक इञ्च डिस्प्ले भएको मोबाइलबाट समेत फोटो र भिडियो रेकर्ड गरेको देखियो ।

‘फोटो खिंचिदिनु त दाई’ धनुषाको सलेबामा खाना खाने बेला प्रचण्डसँग सेल्फी खिच्ने अवसर पाएका एक तन्नेरीले मलाई मोबाइल समात्न दिए । स्मार्टफोनका पारखी हाम्रा लागि यो हाँसो लाग्दो बिषय थियो । तर उनका लागि भने त्यों सय पिक्सेल पनि नभाको तस्बीर ऐतिहासिक थियो ।

मधेशका गाउँबस्तीमा प्रचण्डलाई हेर्न मात्र सभामा ओइरिनेहरू देखिए । धनुषाको यदुकुहामा ७०, ८० वर्षका बृद्धाहरू प्रचण्डलाई हेर्न मात्रै आएका थिए ।

शब्द र तस्वीर प्रचण्डको सचिवालय