१० असार, झापा ।
राजनीतिक रूपमा सचेत पूर्वी तराईको झापा जिल्लाका १५ वटा स्थानीय तहको चुनावमा प्रमुख चार पार्टी एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाबीच चौपक्षीय प्रतिस्पर्धा देखिएको छ । तीन प्रदेशमा भएको पहिलो चरणको चुनावमा एक नगर र एक गाउँँपालिकाको मात्र नेतृत्व हात पारेको राप्रपाले यो जिल्लाका ८ नगरपालिका र ७ गाउँँपालिकामध्ये धेरैजसोमा एमाले, कांग्रेस र माओवादी केन्द्रलाई टक्कर दिने गरी प्रतिस्पर्धी बनेको छ ।

चारवटै पार्टीेले झापाको चुनावलाई प्रतिष्ठाको सवाल बनाइरहेका छन् । कांग्रेस, एमाले र राप्रपा गठबन्धन नगरी एक्लाएक्लै चुनावमा होमिएका छन् भने माओवादी केन्द्रले एउटा गाउँपालिकामा भने संघीय समाजवादी फोरमसित तालमेल गरेको छ । अप्रत्याशित रूपमा माओवादी केन्द्र र राप्रपाको पक्षमा चुनावी माहोल बन्दा आफ्नो पार्टीलाई फाइदा पुग्ने विश्लेषण कांग्रेसको छ । एमालेले भने आफ्नो मत ‘इन्ट्याक्ट’ रहेकाले माओवादी र राप्रपाको भोट बढ्दा कांग्रेसलाई घाटा हुने आकलन गरेको छ । आजको कान्तिपुरमा खबर छ ।

चारवटै पार्टीले आ–आफ्ना उम्मेदवारको पक्षमा माहोल बनाउन शीर्ष नेतृत्व ल्याएर प्रचार अभियान अघि बढाइरहेका छन् । सबैजसो स्थानीय तहमा एमालेले एकलौटी पार्टी अध्यक्ष केपी ओली पक्षका नेता तथा कार्यकर्तालाई उम्मेदवार बनाएका कारण नेता माधव नेपाल पक्षधर असन्तुष्ट छन् । त्यही असन्तुष्टिले एउटा मेयर र केही वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । हल्दिबारी गाउँपालिकाबाहेक झापाका १५ मध्ये १४ वटा स्थानीय तहको प्रमुखमा ओली पक्षका उम्मेदवार छन् । हल्दिबारी गाउँपालिका प्रमुखकी उम्मेदवार मञ्जु सिटौलामात्र नेपाल पक्षकी हुन् । झापामा सांगठनिक स्थिति अरू पार्टीको भन्दा एमालेको मजबुत भए पनि नेपाल पक्षको असन्तुष्टिले ‘डिफेन्सिभ’ स्थिति निम्त्याएको छ ।

नेपाल पक्षको असन्तुष्टिले क्षति पुग्न नदिन र आफ्ना पार्टीका उम्मेदवारको पक्षमा माहोल बनाउन एमाले अध्यक्ष केपी ओली चार दिन गृहजिल्ला झापामा अडडै जमाएर बसे । उनले सबैजसो नगर र गाउँपालिकामा पुगी आफ्ना पार्टीका उम्मेदवारको पक्षमा मत मागे, एमालेको पक्षमा लहर नै ल्याउन भरमग्दुर प्रयास गरे । तर नेपाल पक्षका प्रमुखको उम्मेदवार भएको गाउँपालिका हल्दिबारीमा भने प्रचारमा गएनन् । यसलाई यहाँ सबै पार्टीले ‘अर्थपूर्ण’ रूपमा हेरेका छन् । ओली चार दिन गृहजिल्ला बसेर बिहीबारमात्र राजधानी फर्किए । झापामा एमालेका ओली पक्षधर सबैजसो नेता तथा कार्यकर्ता चुनावी मैदानमा खटिइरहेका छन् । चुनावी मैदानमा नेपाल पक्षधर नेता तथा कार्यकर्ता भने कमै देखिएका छन् ।

उम्मेदवारी चयनमा भएको कमजोरीले कांग्रेसभित्र समेत केही असन्तुष्टि देखिएको छ । कांग्रेसका पुराना कार्यकर्ता जगदीश काफ्लेले भद्रपुरमा विद्रोह गरेर उम्मेदवार दिएका छन् । तत्कालीन चन्द्रगढी गाविसमा ०५४ मा एमालेबाट अध्यक्ष जितेका दुर्गाप्रसाद भट्टराईले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन् । भद्रपुरमा कांग्रेसलाई काफ्ले र एमालेलाई भट्टराई टाउको दुखाइ बनेका छन् ।