दिनेश आचार्य

१४ फागुन, युएई ।

दुइ छट्टा छुट्टै समुहमा क्रियाशील झापाली समाज पुन: एक भएको छ । एकता, सहयोग, सहकार्य अनि समाज सेवाको मुख्य उदेश्य लिएर स्थापना भएको झापाली समाज यु.ए.ई. ले २४ फेव्रुअरी २०१७ का दिन दुवईको एक पार्कमा सभा आयोजना गर्यो ।

सभामा दुई झापाली समाज बीच एकता घोषणा गर्दौ दुवै तर्फबाट समिक्षा र प्रतिबद्धता ब्यक्त गरे । त्यसै कार्यक्रमलाई शिवरात्रीको शुभकामा आदान प्रदान तथा वनभोज कार्यक्रमको रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सयौं झापालीहरु र गैरझापालीहरुको उपस्थिती रहेको थियो। एकतालाई सफल बनाउन पाएकोमा सबैजना खुशी देखिन्थे । वनभोजलाई रचनात्मक बनाउन भाले जुधाइ, हन्डी फुटाइ, कुर्सी दौड, रुमाल चोर जस्ता  प्रतिष्पर्धात्मक खेलहरु खेलाइएको थियो भने स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

गैर अवासिय नेपाली राष्ट्रिय समन्वय परिषदका युवा संजाल सयोजक निश्चल तिर्थ दाहालको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष मोहन शिवाकोटी, प्रवासी नेपाली मंच युएईका रास्ट्रिय कमिटी सचिव कृष्ण पौडेल, नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, जनप्रगतिशिल मंच युएईका अध्यक्ष हेमन्त पौडेल, नेपाली बिजनेस काउन्सिल युएईका एकेन्द्र थापा, लगायत अन्य संघ संस्थाका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी निश्चल तिर्थ दाहालले झापाली समाज युएई अब नयाँ च्याप्टरमा प्रवेश गरेको धारणा राख्दै झापाली समाजले गरेका कार्यहरु प्रशंसा गर्न योग्य रहेको र एकतालाई भावनात्मक रुपमा समेत सँगै लिएर अगाडि बढन समाजका अगुवालाई आग्रह गरेका थिए। झापाली समाज युएईको एकता एउटा दिशा निर्देशको रुपमा लिइएर यसको सस्थागत गर्नको लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्नु पर्नेमा जोड दिए।

एकता, सहयोग र सहकार्यको मुल उदेश्य लिएर करिब २ बर्ष पहिले सन् २०१५ मा स्थापना भएको झापाली समाज युएई, स्थापना भएको एक बर्ष नबित्दै आपसी मनमुटाव तथा असमझदारीका कारण फुटको क्षति व्यहोरेको थियो ।

रोजगारिको सिलसिलामा झापाबाट युएई आएका झापालीहरूलाई एकत्रित गर्दै झापा जिल्ला केन्द्रीत विभिन्न सामाजिक कार्यहरु गर्दै आएका दुवै समाजबीच फुट पश्चात विभिन्न समयमा सामाजिक संजालमा शितयुद्द नै चल्ने गर्दथ्यो । विवाद सतहमा समेत स्पष्ट देखिएको थियो।

दुवै समाज मिल्नुपर्छ भन्ने आम झापालीहरुको भावनालाई प्रतिनिधित्व गर्दै केहि बुद्धिजीवी तथा अन्य व्यक्तिहरुले बारम्बार दुवै समाजको नेतृत्वलाई घच्घच्याउँदै आएका थिए । गत जनवरिमा सम्पन्न मोहन शिवाकोटी अध्यक्ष रहेको झापाली समाज यु.ए.ई. को अधिवेशनमा समेत प्रतिनिधिहरुबाट नेतृत्वलाई एकताका लागि पहल गर्न दबाब दिइएको शिवाकोटी आफै बताउँछन् ।

तत्पश्चात वार्ता समिति बनाएर चरण-चरणमा छलफल गर्दै पदाधिकारी तथा सदस्यहरुमा केन्द्र देखि मातहत समितिहरु समायोजन गर्ने गरि एकता छलफल चलाइएको थियो । विकास उप्रेती अध्यक्ष रहेको झापाली समाज युएई र रोहित भण्डारी अध्यक्ष रहेको झापाली समाज यु.ए.ई. बीच एकिकरण भएको छ।