३० जेठ, एथेन्स । टर्कीको पश्चिमी क्षेत्र एजिएन र ग्रिसको लेसबस तथा चिओसमा सोमबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा १० जना घाइते भएका छन् ।

ग्रिक सरकारी टेलिभिजन इआरटीले ६.३ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ । लेसबसको भ्रिसा भन्ने गाँउमा ती १० जना घाइते भएको र एक जना बृद्ध रहेका बताएको छ ।

“दर्जनौ घरहरु भत्किएका छन्, गाँउका सडकहरु पनि चिराचिरा परेका छन्,” एक सरकारी अधिकारीले स्थानीय एक टेलिभिजनसँग भने ।

उद्धारमा खटिएका सुरक्षाकर्मी तथा अन्य स्थानीयले अपाङगता भएका र महिलाहरुलाई पहिलो प्राथमिकता दिई उद्धारको काम भइरहेको जनाएका छन् । रासस/एएफपी