१५ मंसीर, इलाम । लघु जलविद्युत्को टर्वाइन बिग्रिएपछि पश्चिमी फाकफोकका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । छाँगेटार लघु जलविद्युत् आयोजनाको टर्वाइन एक महिनाअघिदेखि नै बिग्रिएका कारण फाकफोक– ६, ७, ८ र ९ वडाका बासिन्दा विद्युत् सेवाबाट वञ्चित भएका हुन् ।

कात्तिक २२ गते टर्वाइनको रनर बिग्रिएपछि यहाँका करिब २०० घरपरिवार मर्कामा परेका हुन् । विद्युत् बिग्रिएपछि तीन वटा कुटानी पिसानी, एउटा तोरीको मिल बन्द भएका छन् । स्थानीय बासिन्दा मोबाइल चार्ज गर्न एकतप्पा, आमचोकसम्म धाउन बाध्य भएका छन् ।

मेसिन बिग्रिएको लामो समय बितिसक्दासमेत बनाउने पहल नभएको स्थानीय बासिन्दाको गुनासो छ । उपभोक्ताको करिब रु २० लाख, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु १४ लाख अनुदान गरी करिब रु ३४ लाखको लागतमा २० किलोवाट क्षमताको सात वर्षअघि स्थापना भएको थियो ।

विद्युत् आयोजनाको टर्वाइन मर्मतका लागि काठमाडौँ लैजाने तयारी गरिएको प्राविधिक पर्शुराम लुइँटेलले बताए । उक्त टर्वाइन मर्मत गरेर ल्याउन करिब एकसाता लाग्ने जानकारी पनि उनले दिए । रासस