काठमाडौं, ९ चैत । मोरङको कानेपोखरी गाउँपालिका–७ मा शनिबार विहान टाटासुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गुडिरहेको कन्टेनरमा टाटा सुमो ठोक्किँदा चालकसहित अन्य ६ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ६९ १८ नम्बरको कन्टेनरमा सोही दिशाबाट आउँदै गरेको बा ११ च ६९ ४८ नम्बरको टाटासुमो ठोक्किएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईँले जानकारी दिए ।

उनका अनुसार काठमाडौंबाट यात्रु लिएर झापा जाँदै गरेको टाटासुमो दुर्घटनामा परेको हो । दुर्घटनामा झापाको अर्जुनधारा नगरपालिका–४ का ४७ वर्षीय रामकुमार आछामी र झापाको गौरादह नगरपालिका–४ का ३५ वर्षीय प्रकाश मगरको मृत्यु भएको प्रहरी निरीक्षक बजगाईले बताए । घाइते सबैको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।