५ जेठ, काठमाडौँ ।

नेकपा (एमाले)ले कैलालीको टीकापुरमा भएको आठ जना सुरक्षाकर्मी र एक जना शिशुको बीभत्स हत्यामा संलग्नलाई राजनीतिक आवरण दिई उन्मुक्ति दिन सरकारले गरेको निर्णय फिर्ता गर्न माग गरेको छ ।

आज एमालेका सचिव प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गरी सो निर्णय फिर्ता गर्न माग गरेका हुन ।

विज्ञप्तिमा विधिको शासन, सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगका पटकपटकका फैसला तथा निर्देशन एवम् मानव अधिकारका विश्वव्यापी मूल्य मान्यता विपरीतको उन्मुक्ति दिने निर्णयले दण्डहीनता संस्थागत हुने तथा आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने उल्लेख गरिएको छ ।

एमालेले घटनाको तथ्यपूर्ण एवम् निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याई दण्डहीनता अन्त्य गर्न तथा मानवअधिकार र विधिको शासनको पालना गर्न समेत सरकारलाई आग्रह गरेको छ ।

२०७२ साल भदौ ७ गते टीकापुरमा हिंसात्मक घटनामा नौ जनाको ज्यान गएको थियो । रासस