१४ चैत, काठमाडौं ।

एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसंग पराजित भएको छ ।

बंगलादेशको शेख कमाल इन्टरनेशनल क्रिकेट स्टेडियम, एकेडेमी ग्राउण्डमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको हो ।

नेपालले जितका लागि दिएको १ सय ८१ रनको चुनौती पाकिस्तानले ४५ ओभर एक बलमा ४ विकेट खर्चेर पुरा गर्यो ।पाकिस्तानको जितमा ईमाम उल हकले शतकीय योगदान गरे । नेपालका लागि सन्दीप लामिछाने र कप्तान ज्ञानेन्द्र मल्लले दुई दुई विकेट लिए ।

एक समय सहजै पराजित हुने स्थितिमा देखिएको नेपालले खेलमा सुधार गर्दै टेस्ट राष्ट्र पाकिस्तानको २३ वर्ष मुनिको टोलीलाई ४६ ओभरसम्म खेल्न बाध्य पार्यो ।

पहिले टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८० रन जोडेको थियो ।

नेपालका लागि सुनील धमलाले सर्वाधिक ४३, शरद भेषावकरले ३८, विनोद भण्डारीले २२, आरिफ शेखले १६ तथा दीपेन्द्रसिंह ऐरीले १४ रनको योगदान गरे । सागर पुन ४ र कप्तान ज्ञानेन्द्र मल्ल ३ रनमा आउट भए ।

३२ रनमा तीन विकेट गुमाएपछि पुरै ओभर पनि खेल्नेमा समेत आशंका भैरहेका बेला नेपालले ५० ओभुर पुरै टिकेर खेल्यो ।

प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका अन्डर–२३ टीमसहित नेपाल, अफगानिस्तान, हङकङ र मलेसिया सहभागी छन् ।

समूह बीमा नेपाल र पाकिस्तानसँगै बंगलादेश र मलेसिया पनि छन ।