१६ चैत, रत्ननगर (चितवन) । चितवनको भरतपुर ओरालोमा आज साँझ ट्याक्टरको ठक्करबाट दुई महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना५त ४२२३ नंको ट्याक्टरले बाटो काट्दै गरेका तीनजना महिलालाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी पश्चिम चितवनको गुञ्जानगरकी ६५ वर्षीया निर्माया श्रेष्ठ र चितवन पदमपुरकी ४० वर्षीय ललिता श्रेष्ठको मृत्यु भएको चितवनका प्रहरीनायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार निर्मायाको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा मृत्यु भएको हो भने ललिताको कजेलमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको हो । घाइते चितवन भरतपुरकी सूर्यकुमारी श्रेष्ठको सोही कलेजमा उपचार भइरहेको र साँझ ५:१५ बजे सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरका चालकसमेत घाइते रहेको उनी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।