१३ चैत, एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प आफ्नो परिवारसहित वासिङ्टन डिसीको कालोरामा क्षेत्रमा बस्दछिन् । त्यहाँका स्थानीयले भने इभान्का र उनको परिवार राम्रा छिमेकी नभएको गुनासो गरेका छन् ।

‘उनी र उनको परिवारका सदस्यले पुरै सडक आफ्नै सम्झेर गाडी चलाउँछन्। आफ्नो क्षेत्र वरिपरि जथाभावी फोहोर फाल्ने गरेको भेटिएको छ’, एक स्थानीय भन्छन् ।

अव्यवस्थित पार्किङ, सुरक्षा र फोहोर लगायतका विषयवस्तुमाथी बारम्बार प्रश्न राख्दा पनि इभान्काको परिवारले चासो नदिएको समेत छिमेकीहरुको गुनासो छ ।

इभान्काको परिवारमा उनका पति जरेड कुसनर  र ३ सन्तान रहेका छन् । जरेड ह्वाइट हाउसका सिनियर एडभाइजर हुन् । इभान्काको परिवार यहाँ बस्ने हुँदा यो इलाकामा कडा सुरक्षा व्यवस्था छ । यहाँसम्म कि उनका तिनै सन्तान समेत कडा सुरक्षा घेरामा बाँधिएका छन् ।

उच्च घरानाका यस परिवारका सदस्यको लागी त्यहाँको फुटपाथ समेत बन्द गरिएको प्रति कालोरामाका स्थानीय वासिन्दाको गुनासो गरेका हुन ।

इभान्काको परिवारले मनलाग्दो तरिकाले अधिकार जमाउन थालेपछि स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका थिए । स्थानीयले इभान्काको घर वरिपरि टासेका नो पार्किङ बोर्ड हटाउन लगायतका विभिन्न माग राखेका थिए ।

इभान्काले गत डिसेम्वरमा कालोरामा क्षेत्रमा रहेको यो घर ५.५ मिलियन डलरमा किनेकी थिइन।