१२ चैत, काठमाडौं । ओवामाकेयरको स्थानमा नयाँ हेल्थकेयर विधेयक पास गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास असफल भएको छ । आवश्यक समर्थन जुटाउन नसक्दा मतदान अघिनै विधेयक फिर्ता लिइएको छ । यो सँगै ओबामा हेल्थ केयरलाई खारेज गर्ने सात वर्ष देखिको रिपब्लिकन पार्टीको सपना अधुरो रह्यो भने राष्ट्रपति ट्रम्पलाई ठूलो भड्का लागेको छ ।

तल्लो सदन हाउस अफ रिप्रेजेंटेटिब्समा विधेयकको पक्षमा आवश्यक २१८ मत पुर्याउन नसकिने अवस्था आएपछि मतदान अघिनै फिर्ता लिइएको हो । रिपब्लिकन पार्टीकै केही सांसद विधेयकको विरोधमा देखिएपछि बहुमत हुँदाहुँदै पनि राष्ट्रपनि असफल भएका हुन् । सदनमा रिपब्लिकन पार्टीको स्पष्ट २३७ मत छ । तर झण्डै ३५ जना सांसद विधेयकको विपक्षमा देखिएपछि ट्रम्प अप्ठ्यारोमा परेका हुन् ।

ट्रम्पले यो विधेयकलाई चुनावी मुद्दाकै विषय बनाएका थिए । तर असफल भएपछि ट्रम्प निराश भएको बिबिसीले जनाएको छ । यता प्रतिपक्षी डेमोक्र्याटिक पार्टीका नेता नेन्सी पेलोसीले खुशी व्यक्त गर्दै विधेयक फिर्ता हुनुभनेको अमेरिकी नागरिकको जीत भएको प्रतिक्रिया दिएका छन् ।