१२ वैशाख, एजेन्सी।

दक्षिणी चिनियाँ सागरमा चीनले बनाएको कृत्रिम द्विप नजिक बुधबार अमेरिकाले एक युद्धपोत पुर्याएको छ।

डोनाल्ड ट्रम्पले अमेरिकाको नेतृत्व सम्हालेपछि दक्षिणी चिनियाँ सागरमा चीनको दाबीलाई पहिलो पटक यस्तो चुनौती दिइएको हो।

अमेरिकी मिडियाको अनुसार यूएसएस डिबी युद्धपोत चीनको कृत्रिम द्विप भन्दा १२ नटिकल माइल नजिक पुगेको थियो।

अमेरिकाको युद्धपोत आफ्नो जलक्षेत्रमा बिना अनुमति आएको र आफ्नो जल सेनाले तत्काल त्यहाँबाट बाहिरिन चेतावनी दिएको चीनले बताएको छ।

यता अमेरिकाले अन्तराष्ट्रिय जलक्षेत्रमा आफ्नो अभियान जारी राख्न सक्ने बताएको छ। क्षेत्रीय विवादमा कसैको पक्ष नलिने बताउँदै आएको अमेरिकाले विवादित द्विपहरुमा सैन्य जहाज र लडाकु विमान पठाइरहेको छ।

सागर र हवाइ क्षेत्रमा विमानहरुको बिनारोकतोक आवागमनको अमेरिकाले समर्थन गर्ने बताएको छ। रणनीतिक जलक्षेत्रहरुमा जहाज तथा विमानको आवागमन सिमित गर्ने कार्यको अमेरिकाले आलोचना गर्दै आएको छ।

चीन पुरै दक्षिणी चिनियाँ सागरमा आफ्नो दाबी गर्छ। साथै अन्य देशहरु पनि दक्षिणी चिनियाँ सागरको द्वीपहरुमाथी आफ्नो दाबी गर्दै आएका छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु कांगले अमेरिकाको यस्तो कदमको निन्दा गरेका छन्। अमेरिकाको यो कदमले चीनको सम्प्रभुता र सुरक्षालाई नोक्सान पुगेको र यसले हवाइ वा समुन्द्री दुर्घटनालाई बढवा मिल्ने चीनले बताएको छ।

लु कांगले अमेरिकाको यो कदमले संवाद र सम्पर्कको प्रक्रियमा चोट पुगेको पनि बताएका छन्।

चीन र अमेरिका दक्षिणी चिनियाँ सागरमा सैन्यीकरणलाई बढवा दिएको एक अर्कोलाई आरोप लगाउँदै आएका छन्।

दक्षिणी चिनियाँ सागरको विवादले एक वैश्विक चिन्ताको रुप लिइसकेको छ।

अमेरिका चाहन्छ कि चीन उत्तर कोरियाको परमाणु कार्यक्रममाथी प्रतिबन्ध लगाओस्। ट्रम्प प्रशासनले यो कदम पनि चीनमाथी थप दबाब बनाउन चालेको विश्लेषण समेत गरिएको छ।

यहि महिनाको शुरुवातमा चिनियाँ लडाकु विमनाले अमेरिकी विमानलाई रोकेको थियो। अमेरिकी सेनाका अधिकारीहरुको अनुसार सो विमान अन्तराष्ट्रिय हवाइ क्षेत्रमा रेडियशन पत्ता लगाउने मिसनको लागि पठाइएको थियो। चीनले यो घटनामा कुनै टिप्पणी गरेको थिएन।