७ मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा डनहरुको शासन अन्त्य गर्नको लागि नेपाली काँग्रेसले बहुमत ल्याउनुपर्ने बताएका छन् ।

नेपालमा अहिले लोकतन्त्रलाई नै धरापमा पार्नको लागि कम्युनिष्टहरुले विभिन्न खालका गतिविधि सञ्चालन गरिरहकाले यसतर्फ सचेत हुन सबै मतदातालाई आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस रुकुम पश्चिमले आयोजना गरेको चुनावी सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुको एकदलीय शासन लागू भएमा मान्छेले मान्छेसँग डराउनुपर्ने, त्रासमा बस्नुपर्ने, आफ्नो मागसमेत राख्ने नपाउने अवस्था आउने भएकाले काँग्रेसलाई मतदान गर्नुपर्ने बताए ।

आफ्नो पार्टीले अहिलेसम्म नेपाली जनतालाई कुनै पनि दुःख नदिएकाले संसारबाट फ्याँकिएको कम्युनिष्टलाई नेपालबाट पनि समाप्त पार्नुपर्ने बताए । लोकतन्त्र नै संकटमा परेको बेला लोकतन्त्रलाई बचाउनको लागि काँग्रेसलाई बिजयी गराउनुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले भने, तपाईहरु एक दलीय कम्युनिष्ट शासन रोज्नेकी लोकतान्त्रीक समाज रोज्ने ? लोकतान्त्रिक समाज रोज्नेले काँग्रेसलाई मतदान गर्नुहोस् ।

एकदलिय सर्वसत्ताबाद र कम्यूनिष्ट निरंकुशता लाद्ने योजना अनुसार बाम गठबन्धन भएको बताउँदै प्रधानमन्त्री देउवाले त्यसको अन्त्यका लागि आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।