९ असोज, काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसी आजदेखि फेरि आमरण अनसन सुरु गरेका छन् ।

संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको भन्दै डा. केसीले १२ औँ पटकको अनसन थालेका हुन् ।

डा. केसीले माथेमा प्रतिवेदन तथा आफूहरुको सुझावअनुरुप परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा ऐन पारित गर्न, काठमाडौं विश्वविद्यालयको निर्णय तत्काल खारेज गरी सरकारले तोकबमोजिम एमबीबीएसका लागि काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार, उपत्यका वाहिर ४२ लाख ४५ हजार तथा बिडिएसका लागि १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ कायम गर्न माग गरेकाछन् ।

यस्तैगरी डिन राजेन्द्र कोजुलाई तत्काल बर्खास्त गर्नुपर्ने, बर्खास्त गरिएका आयल निगमका प्रमुखमाथि छानबिन गरेर हिनामिना गरेको अर्बौं रुपैयाँ असुलउपर गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन–अध्यापन सुरु गर्ने गरी बजेट तथा अन्य व्यवस्था, कैलाली र दाङका सरकारी मेडिकल कलेजको काम, डोटी–डडेल्धुरा, धनुषा–महोत्तरी, उदयपुर, पाँचथर–तेह्रथुम आदि ठाउँमा तत्काल सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन माग गरेका छन् ।