१ कात्तिक, काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री दीपक बोहराले आज प्रा डा गोविन्द केसीलाई भेटी उनले राखेका माग आजै सम्बोधन हुने बताएका छन ।

केसीसँगको भेटमा उनले भने, “प्रधानमन्त्रीले अध्यादेश जारी गरी चिकित्सा शिक्षा ऐन ल्याउने तयारी गर्दै हुनुहुन्छ । यसबारे विज्ञहरुसँग उहाँले छलफल गरी राय लिइरहनुभएको छ ।”

डा केसी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा १४ दिनदेखि चिकित्सा शिक्षा र सेवाको सुधारलगायतका माग राखी १३ औँ अनशनमा छन । मन्त्री बोहराले डा केसीलाई स्वास्थ्यसँग सम्बन्धित विषयमा मन्त्रालय सकारात्मक रहेको र अन्य विषयमा सहमति जुटाई आजै माग सम्बोधन हुने विश्वास दिलाएका थिए ।

डा केसीले सरकारका तर्फबाट हरेक पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृतिका कारण आफू ढुक्क हुन नसकेको गुनासो गरे । उनले भने, “धेरै पटक धोका भयो, अब कार्यान्वयन सुनिश्चित नहुन्जेल सम्झौता गर्दैनौँ ।”

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले शिक्षामन्त्री गोपालमान श्रेष्ठ, पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, प्रा केदारभक्त माथेमा र डा केसीका वार्ता समिति सदस्य डा अभिषेकराज सिंहसँग वार्ता गरिरहेका छन ।

यही कात्तिक ६ गते बस्ने मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश जारी गरी ऐन ल्याउने विषयमा छलफल भइरहेको बताइएको छ ।