९ बैशाख, काठमाडौं । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको उपाधि धनगढी टिम चौराहाले जितेको छ ।

लिग चरणमा खेलेका ५ मध्ये २ मा मात्रै जित निकालेको राष्ट्रिय टिमका कप्तान पारस खड्काको टिम चौराहले आज बिराटनगर किंग्सलाई ६२ रनले पराजित गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको टिम चौराहले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । उसका लागि आरिफ शेखले ३० बल खेल्दै ४ छक्का र ४ चौकाको मद्दतमा ५४ रनको महत्वपूर्ण योगदान गरे ।

अमर रौतेलाले १५ बलमा ३१ रन हाने भने कप्तान पारस २९ रन बनाएर पभेलियन फर्किएका थिए । जवाफी ब्याटिङमा आएको बिराटनगर ११ बल बाँकी छँदै ९७ रनमा समेटियो ।

उसका लागि प्रनित थापा मगरले २७, अमित श्रेष्ठले २६, अनिल साह र दिपेन्द्र सिंह ऐरीले समान १३÷१३ रन बनए भने कप्तान शरद भोषावकर २ रनमा आउट ।

बिराटनगरलाई सस्तैमा समेट्न सुसन भारीले ३, आरिफ शेख र सौरभ खनाल समान दुई दुई विकेट लिएका थिए । जितसँगै टिम चौराहाले १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।