६ चैत, काठमाडौं ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्र सेवक कर्मचारीले डिभी तथा स्थायी बसोबास अनुमतिपत्र (पिआर) लिएको खण्डमा उसलाई जनताको करबाट जाने एक पैसा पनि सुविधा नदिने उद्घोष गरेका छन् ।

सूचना तथा सञ्चार क्लव नेपालको सातौं वार्षिकोत्सवको अवसरमा आज आयोजित ‘दोहोरो नागरिकता र विवाद’ विषयक अन्तरक्रियामा उनले भने, “दोहोरो नागरिकतासम्बन्धी विधेयक तयार हुदैँछ, संसदको अधिवेशन सुरु भएपछि यसले पूर्णता पाउनेछ, कुनै हालतमा दोहोरो नागरिकता दिइनुहुन्न यसले राष्ट्रिय अखण्डतालाई कमजोर तुल्याउछ ।”

Lalbabu Pandit12

मन्त्री पण्डितले २०५७ सालमै टुङ्गिएको दोहोरो नागरिकताको विषय पुनः चर्चाको विषय बनाइनु बिडम्बना हो भन्दै कुनैपनि नागरिक एक राष्ट्रको मात्र नागरिक हुनसक्ने बताए ।

पूर्वमन्त्री रामकुमार श्रेष्ठले दोहोरो नागरिकताको विषयले मुलुकको राष्ट्रियता र प्रजातन्त्रलाई कमजोर पार्ने खतरा औँल्याउँदै यसको विवेकपूर्ण ढङ्गले समाधान खोजिनुपर्ने बताए ।

सभासद गीता राणाले दोहोरो सुविधा राज्यका कुनै नागरिकले पाउन नहुने बताइन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले दोहोरो नागरिकताले देशको राष्ट्रिय स्वार्थ एकआपसमा बाझिने संवेदनशील विषय भएकाले यो सिद्धान्त र व्यावहारिकरुपमा पनि एउटा नागरिक दुई देशको नागरिक हुननसक्ने बताए ।

पर्यटन व्यवसायी दीपक महत, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले राज्यको उच्च ओहदाको पदमा रहेर विदेशी नागरिकता लिनु संवेदनशील विषय भएकाले दोहोरो नागरिकताको समस्या चाँडो राज्यले समाधान गर्नुपर्ने बताए ।

सूचना तथा सञ्चार क्लवका अध्यक्ष कृष्णानन्द भट्ट र महासचिव मुकुन्द ढुङ्गानाले जल्लावल्दा सामाजिक तथा आर्थिक विकासका विषयलाई क्लवले विभिन्न तहबाट प्रभावकारी छलफल र बहस चलाउने बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु-याएका १४ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

सूचना तथा सञ्चार क्लबमा नयाँ नेतृत्व सूचना तथा सञ्चार क्लवको सातौँ साधारणसभाले दूरदर्शन टेलिभिजनका पत्रकार कृष्णानन्द भट्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

क्लवको उपाध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस)का सिबी अधिकारी, महासचिवमा बोष्टर मिडियाका मुकुन्द ढुङ्गाना, सचिवमा स्वतन्त्र पत्रकार हर्क खडायत, कोषाध्यक्षमा राष्ट्रिय खबर डटकमका कल्पना दङगाल र सदस्यमा माउन्टेन टेलिभिजनका शर्मिला थापा चयन भएका छन् । रासस