७ भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र भित्रिएको बिकृति र विसंगतिको नैतिक दायित्व आफैले लिने बताएका छन् ।

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको काठमाडौंमा आयोजित राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिले नेता, आन्दोलन र पार्टीमा सुधार गर्न पहल गरेको बताए ।

पद प्रतिष्ठाका लागि मरिहत्ते नगर्न बिद्यार्थी नेताहरुलाई आग्रह गर्दै प्रचण्डले स्वस्थ प्रतिस्पर्धा गर्न सुझाव दिए । आफूलाई शक्ति केन्द्रहरुले पुष्पकमल देख्न चाहेको र जनता, कार्यकर्ता, सहिद र वेपत्ता परिवार र माओवादीका समर्थकले प्रचण्ड देख्न चाहेको स्मरण गराउदै उनले डेढ बर्षभित्र प्रचण्ड बनेर देखाउने घोषणा गरे ।

अहिले माओवादीहरु एक हुन थालेपछि प्रतिक्रियावादी डराएकोे उनको भनाई छ । अखिल क्रान्तिकारीको अध्यक्ष बन्नका लागि अनिल शर्मा र रामचन्द्र अधिकारी प्रतिस्पर्धामा देखिएका छन् ।

निर्वाचन हुने अवस्थामा विरेन्द्र बस्नेतले पनि अध्यक्षका लागि उम्मेदवारी दिने बताएका छन् । सम्मेलनमा मुलुकभरबाट करिव दुई हजार प्रतिनिधि सहभागि छन् ।