२५ असार, डोल्पा (दुनै)।

यार्सागुम्बा पछिको डोल्पाको चिनारी डोल्पाली स्याउ यस वर्ष तुलनात्मक रुपमा कम फल्यो ।

कर्णालीमै स्वादिष्ट स्याउ फल्ने डोल्पाका बस्तीमा लगाइएका रुख कतिपय खाली देखिन्छन् । फले पनि गत वर्षभन्दा पातलो फलेको स्याउ कृषकले बताए ।

स्याउ उत्पादन भए पनि बजारको अभावमा घरमै थन्किने डोल्पाली स्याउ यस वर्ष उत्पादनमा गिरावट आउने कृषि विकास कार्यालय डोल्पाले जनाएको छ ।

स्याउ फुल्ने समयमा खडेरीका साथै हावाहुरीले गर्दा केही झारेको केही फूल नै सुकेकाले स्याउ उत्पादनमा गिरावट आउने सङ्केत देखिएको कार्यालयले जनाएको छ ।

गत वर्ष ८०० मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष ५०० मेट्रिक टनमात्र उत्पादन हुने अनुमान गरिएको छ ।

अन्य बस्तीमा स्याउ कम फलेको अवस्थामा समसितोष्ण तरकारी उत्पादन केन्द्र जुफालमा भने स्याउ गत वर्षको तुलनामा राम्रो र धेरै फलेको प्रमुख दशरथ पाण्डेले बताए ।

उचित व्यवस्थापनको कारण धेरै स्याउ फलेकोे उनले बताए । यस वर्ष ४० बोटमा स्याउ लटरम्म फलेको र यसबाट रु एक लाख ५० हजारसम्म राजस्व सङ्कलन हुने अनुमान गरिएको उनले बताए । डोल्पामा रेड डेलिसियस, गोल्डेन, चक्लेटी जातका स्याउ लगाइएको छ ।

डोल्पाका सुँ, जुफाल, लिकु, दुनै, रह, त्रिपुराकोट, रिमी, काइगँउलगायतका दर्जनौँ गाविसमा स्याउ उत्पादन हुने गर्दछन् । डोल्पाली स्याउ नेपालगन्ज, सुखेत, जाजरकोट, रुकुमलगायतका जिल्लामा निर्यात हुने गर्दछ ।

डोल्पाका प्रमुख फलफूलको रुपमा स्याउ, दाँते ओखर, कागतीलगायतका फलफूल हुन यसको व्यावसायिक उत्पादनमा जोड दिए डोल्पालीको जीवनस्तर अझै उकालो लाग्ने कार्यालयको भनाइ छ । रासस