काठमाडौं, २८ जेठ । सत्तारुढ नेकपाका सांसद झपट रावलले शहरी विकास मन्त्रालय अन्तर्गतका बजेट विभेदकारी ढंगले बिनियोजन गरिएको भन्दै बिरोध गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्रालयगत बिनियोजन शीर्षकमा छलफल चल्दै गर्दा सभामुखले रावललाई समय दिए । रावल ड्यासमा गए र उनले भने, ‘सभामुख महोदय म विशेषगरी शहरी विकास मन्त्रालयको वार्षिक कार्यक्रमको विषयमा बोल्न चाहन्छु ।’ त्यसपछि रावलले केही बोलेनन् चुप लागिरहे ।

त्यसपछि सभामुखले सोधे, माननीय ज्यू के भयो ? उनले ब्यंग्यात्मक जवाफ दिए ‘केही नभएकोले नै सभामुख महोदय नबोलेको ।’ त्यसपछि फेरि रावल चुप लागिरहे। सभामुखले थपे, ‘यसरी त समयको सदुपयोग भएन की ?’ त्यसपछि रावलले अगाडि भने, ‘त्यो किताबमा नअटेको हुनाले सभामुख महोदय ।’ सभामुखले फेरि भने, ‘माननीय ज्यूको सांकेतिक विरोध भइसेको छ समय लिनुस् म अनुरोध गर्न चाहन्छु’, रावलले जवाफ दिए, ‘सभामुख महोदय भए पो बोल्नु ।’

६ मिनेटको समय दिएकोमा झण्डै आधा त उनले मौन रहेरै विताए । उनले शहरी विकास मन्त्रालयका वार्षिक कार्यक्रम पाना पल्टाउँदा पनि आफ्नो क्षेत्र उपेक्षामा पारिएको गुनासो गरे । जहाँ धेरै समस्या छ त्यहाँ भन्दा मन्त्रीले आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याएको उनको आरोप थियो । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईप्रति लक्षित गर्दै रावलले भने, ‘तपाइले बाँकेको एउटा क्षेत्रमा मात्रै सम्पूर्ण कार्यक्रम केन्द्रित गरेर सिंगो देश शहरीकरण हुँदैन, तपाइलाई म बधाइ दिन चाहन्छु ।’ उनले हावाहुरीले कैलाली र कञ्चनपुरमा पुगेको क्षतिलाई मध्यनजर गर्दै राहत घोषणा गर्नुपर्ने माग गरे ।