५ साउन, काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ढल व्यबस्थापन आफ्नो मन्त्रालय र सडक विभागमा नपर्ने जनाएको छ ।

सार्वजनिक लेखा समितिको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले वर्षाको पानी व्यवस्थापन मात्र सडक विभागको काम भएको र ढल बनाउने म्यान्डेट आफ्नो मन्त्रालय मातहतको नभएको बताए ।

काठमाडौंका सडकको आर्थिक र भौतिक संरचनाबारे समितिले बैठक डाकेको थियो । बैठकमा दुई घण्टाभन्दा बढी छलफल हुँदा पनि सरोकारवाला निकाय तथा सांसदहरुले ढल हेर्ने आधिकारिक निकायका बिषयमा अन्यौलता देखाएका थिए ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुको जिज्ञासा ढल कुन मन्त्रालय विभाग अथवा निकायले हेर्ने भन्ने सम्बन्धमा स्पष्ट नहुदा केहिवेर अन्यौल भएको थियो । बैठकमा सांसदहरुले पछिल्लो समय निम्तिएको ढल काण्डप्रति दुखेसो व्यक्त गरे ।

सांसदहरुले सडक तथा ढललगायतका कारण पछिल्लो समय राजधानी भन्न नमिल्ने र अन्तराष्ट्रिय स्तरमै साख गुम्दै गएकोप्रति ध्यानाकर्षण गराएका थिए ।

बैठकमा मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले उपत्यकामा ढल दुई किसिमको रहेको बताए । उनले एउटा फोहोरका लागि प्रयोग हुने र अर्को आकाशबाट परेको पानी काट्न सडकमा बनाइने भएकाले पछिल्लो किसिमको ढल सडक विभागको क्षेत्राधिकारमा पर्ने बताए ।