३० असार, काठमाडौं ।

उप–राष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि नर्वेका राजदूत चेल टोरमोड पिटर्सेनले विदाई भेट गरेका छन् । उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उप–राष्ट्रपतिसँग आफ्नो चार वर्षे कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेका नर्वेका राजदूत पिटर्सेनले विदाई भेट गरेका हुन् ।

उपराष्ट्रपतिले नर्वेका राजदूतसँगको भेटमा नेपालको शान्तिप्रक्रिया र संविधान निर्माणमा नर्वेको ठूलो सहयोग रहेको बताए । उनले राजदूत पोटर्सेनको कार्यकालमा नेपाल–नर्वे सम्बन्ध थप सुदृढ भएको बताउनुहुँदै धन्यवाद दिए ।

भेटमा उपराष्ट्रपतिले स्थानीय तहको दुई चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र स्थानीय तहको तेस्रो चरण, प्रदेश र संघको निर्वाचनपछि नेपालले पूर्ण राजनीतिक स्थायित्व हाँसिल गर्ने बताए ।

उपराष्ट्रपतिसँगको विदाई भेटमा नर्वेका राजदूत पोटर्सेनले आफ्नो चार वर्षे कार्यकाल अत्यन्त फलदायी भएको बताए । उनले नेपालले हाँसिल गरेको राजनीतिक स्थायित्वको प्रशंसा गरे ।

राजदूतले नेपाल पद यात्राका लागि स्वर्ग भएको आफूले अनुभूति गरेको बताए । नेपाल शान्ति प्रक्रियाका लागि विश्वकै नयाँ उदाहरण भएको उल्लेख गर्दै नेपालले नोवेल शान्ति पुरस्कार पाउनुपर्ने विश्वास व्यक्त गरे । उपराष्ट्रपतिले नेपाली ढाका टोपी लगाईदिएर नर्वेका राजदूतलाई विदाई गरे ।