२९ वैशाख, काठमाडौं ।
स्पेनिस सेल्टाभिगोसँग १–१ गोलको बराबरीमा रोकिए पनि म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।

आज बिहान सकिएको निक्कै तनावपूर्ण खेलमा म्यानयुले एकएक गोलको बराबरी खेले पनि पहिलो लेगमा १–० गोलको नतिजा निकालेको हुनाले समग्रमा २–१ को अन्तरमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । खेलको अन्तिम समयमा दुवै टोलीको एक एक खेलाडीले रातो कार्ड पाएका थिए ।

खेलमा अग्रता भने फेलानीले १७ औं मिनेटमा गोल गरेपछि म्यानयुले लियो । यही अग्रता ८४ औं मिनेटसम्म कायम राखे पनि भिगोका लागि ८५ औं मिनेटमा अर्जेन्टिनी डिफेन्डर फाकुन्दो रोन्काग्लियाले गोल गरेपछि खेल एकएक गोलको बराबरीमा पुग्यो । समय सकिनैं लाग्दा भिगोले गोल गर्ने सुन्दर मौका गुमाउँदा प्रतियोगिताबाट बाहिरियो । त्यो मौकालाई सदुपयोग गर्न सकेको भए बराबरी भए पनि अवे गोलको फाइदाका कारण भिगो अगाडि जान सक्थ्यो । अन्तिम बलमा चुकेपछि भिगोका खेलाडी रुँदै मैदान छाडेका थिए ।

यता युनाइटेड भने युरोपको दोस्रो ठूलो यो प्रतियोगितामा १२५ वर्षपछि फाइनलमा पुगेको हो ।

अब फाइनलमा म्यानयुले नेदरल्याण्डको टोली अयाक्सविरुद्ध खेल्नेछ । अयाक्सले फ्रेन्च क्लब लियोनविरुद्ध समग्रमा ५–१ को नतिजा निकाल्दै फाइनलमा स्थान बनाएको थियो । अब २४ मेमा स्वीडेनको स्टकहोममा यी दुई क्लबबीच फाइनल खेल हुनेछ । इङिलस लिगमा शीर्ष चारभित्र परेर च्याम्पियन्स लिग खेल्न नसक्ने भएपछि म्यानयुका प्रशिक्षक जोजे माउरिन्होले युरोपा लिग जितेर यताबाट लिग खेल्ने ढोका उघार्ने रणनीति लिएका छन् ।