कुशल श्रेष्ठ

यदि तपाईँले आफ्नो प्रिय कुकुरको आँखामा नियाल्नुभयो भने भर्खरै तपाईँसँग बोल्छ जस्तै लाग्छ- तर अपसोच ऊ बोल्न सक्दैन। तर उसको शारीरिक भाषा हेरेर भन्न सक्नुहुन्छ कि उसले के भन्न खोजिरहेको छ। तपाईँ आफ्नो कुकुरसँग जति नजिक हुनुहुन्छ, उसको भाषा बुझ्न त्यत्ति नै सजिलो हुन्छ।

मानिसको जस्तै कुकुरको पनि उमेरसँगै स्वास्थ्यस्थिति खस्किँदै जाने हुन्छ। तर, दुःखको कुरा, उनीहरूको उमेर हाम्रो भन्दा चाँडै बढ्दै जान्छ।Sick Pug

तपाईँको कुकुरको उमेर जति भएपनि, उसको स्वास्थ्यको विषयमा तपाईँको भूमीका सबैभन्दा महत्वपूर्ण हुन आउँछ। याद गर्नुहोस् कि कुकुरले तपाईँलाई आफ्नो स्वास्थ्यस्थितिको बारेमा बयान गर्न सक्दैन, तर सङ्केत चाहिँ देखाइरहेको हुन्छ। त्यो सङ्केतलाई बुझ्नुपर्ने कर्तव्य तपाईँको हुन आउँछ।

त्यसैले यस्ता सङ्केतहरूको बारेमा जानिराख्दा तपाईँको कुकुर बिरामी पर्दा उसको उपचार गर्न सजिलो हुने गर्दछ। यो कुरा पनि थाहा पाउनुहोस् कि १०% घरपालुवा जनावरहरूलाई हेर्दा अनि पशुविज्ञले जाँच गर्दा स्वस्थ देखिन सक्छ तर भित्रभित्रै उसलाई घातक समस्याले सताइरहेको हुन्छ।

तपाईँको कुकुर बिरामी भएको हुन सक्ने १० सङ्केतहरूः
  • स्वास दुर्घन्धित हुने र र्याल निकाल्ने
  • अत्याधिक पानी पिउने र पिसाब गर्ने
  • खाने बानीमा परिवर्तन आउने साथै तौलमा घटबढ हुने
  • उसको दैनिक क्रियाकलापमा परिवर्तन आउने (जस्तै; सँधै गरिरहेको काममा चासो नदेखाउने)
  • बस्न, उठ्न, हिँड्न अनि भर्याङ्ग चढ्न गाह्रो हुने
  • सँधैको भन्दा धेरै सुत्ने
  • खोक्ने, हाँछ्यू गर्ने, स्वास फेर्न गाह्रो हुने
  • छाला बढि चिलाउने, खटिरा देखा पर्ने
  • दिसा गर्ने बानीमा परिवर्तन हुने
  • आँखा रातो हुने, आँखाबाट चिप्रा निस्कने अनि आँशु आउने

यदि तपाईँको प्रिय कुकुरमा यस्ता सङ्केतहरू देख्नुभएको छ भने ढिला नगरी तुरुन्तै पशुडाक्टरसँग जँचाउन जानुहोस्।

बानी व्यवहारमा परिवर्तनः

कुकुरको शारीरिक लगायत बानी व्यवहारमा परिवर्तन आउनु पनि बिरामीको सङ्केत हुन सक्छ। तपाईँको कुकुरलाई तपाईँले बाहेक अरूले बुझेका हुँदैनन्। र यदि उसले असामान्य व्यवहार गर्न थालेको छ भने बुझ्नुहोस् कि उसले आफ्नो स्वास्थ्यको बारेमा केहि भन्न खोजिरहेको छ।Sick Dog

उसका केहि व्यवहारीक परिवर्तन जसले तपाईँको असल मित्र बिरामी भएको छ भनेर सङ्केत गर्दछः

  • अल्छी हुने
  • चाँडै रिसाउने
  • अनावश्यक रूपमा झस्किने
  • आफ्नै मालिकसँग पनि बिनाकारण डराउने
पेटमा समस्याः

अधिकांश कुकुरलाई झाडापखाला अनि वान्ता हुने समस्याले बढि सताउने गर्दछ। तर यदि उसको स्वास्थ्य सामान्य छ भने यस्तो समस्या धेरै समयसम्म रहँदैन। त्यसैले उसमा निम्न लक्षण अनि सङ्केत देखिन थाल्यो भने तुरुन्तै पशुचिकित्सकसँग उपचार गर्न लगिहाल्नुपर्दछः

  • २४ घण्टा भन्दा बढि समयसम्म लगातार वान्ता गरिराख्ने
  • २४ घण्टा भन्दा बढि समयसम्म लगातार झाडापखाला गरिराख्ने
  • पेट कराउने वा फुल्ने
  • दिसामा रगत देखा पर्ने
  • खानामा रुचि घट्ने

यस्ता सङ्केत देखा परेमा उसको स्वास्थ्यस्थिति एकदमै नाजुक छ भनेर बुझ्नुहोस्। यो सबैभन्दा खतरनाक सङ्केत हो। ३ दिनभन्दा बढि समयसम्म यस्ता लक्षण देखा परिरहेमा उसको ज्यान पनि जान सक्छ।

ज्वरोः

ज्वरो आउनु भनेको स्वास्थ्यमा समस्याको सङ्केत हो। अधिकांशले के विश्वास गर्छन् भन्दा, कुकुरको नाक चिसो अनि ओसिलो छ भने ऊ स्वस्थ छ अनि तातो र सुक्खा छ भने ऊ बिरामी छ। तर यो गलत हो। नाकको तापक्रम अनि ओसिलोपनाले उसलाई ज्वरो आएको छ-छैन भनेर छुट्याउन सकिँदैन। उसलाई ज्वरो आएको छ वा छैन भनेर केवल थर्मोमिटरबाट मात्रै थाहा पाउन सकिन्छ। यदि कुकुरको तापक्रम १०३ फरेन्हाइट भन्दा बढि छ भने चिकित्सकलाई बोलाउनुपर्ने बेला भयो भन्ने बुझ्नुहोस्।

कुकुरको तापक्रम कसरी जाँच गर्ने?
  • थर्मोमिटरबाट तापक्रम लिने २ वटा तरिकाहरू छन्ः मलद्वारबाट र कानबाट
  • कानबाट तापक्रम पत्ता लगाउने विधि सजिलो हुन्छ तर यसले सही तापक्रम नदेखाउन पनि सक्छ। मलद्वारबाट पत्ता लगाउने विधिले सही तापक्रम देखाउँदछ।
मलद्वारबाट तापक्रम पत्ता लगाउने तरिकाः
  • जहिले डिजिटल थर्मोमिटरको प्रयोग गर्नुहोस् (मर्क्यूरी थर्मोमिटर प्रयोग नगर्नुहोस्)।
  • थर्मोमिटरको टुप्पामा हलुका भेसलिन अथवा पेट्रोलियम जेल्ली लगाउनुहोस्।
    कुकुरलाई उभ्याउनुहोस्।
  • बिस्तारै उसको पुच्छर उठाउनुहोस्। जोडले उठाउँदा ऊ तर्सिन सक्छ र तापक्रम नाप्न कठीन हुन सक्छ।
  • थर्मोमिटरलाई बिस्तारै मलद्वारमा घुसाउनुहोस्। सजिलोको लागि घुमाउँदै छिराउन सक्नुहुन्छ।
  • थर्मोमिटरलाई करीब १ इन्चको गहिराईसम्म छिराउनुहोस्।
  • थर्मोमिटरले ‘बिप’ आवाज ननिकालुञ्जेलसम्म कुर्नुहोस् र आवाज निकालेपछि त्यसले तापक्रम लियो भनेर बुझ्न सकिन्छ।Anal Thermometer
*कुकुरको सामान्य तापक्रम १०० देखि १०२.५ डिग्री फरेन्हाइट हुनुपर्दछ*
कानबाट तापक्रम पत्ता लगाउने तरिकाः

कानबाट तापक्रम पत्ता लगाउने थर्मोमिटरले कानको जालीको तापक्रम नाप्दछ। थर्मोमिटरको पोजिसन र कानमा भएको फोहोरले गर्दा कहिलेकाहिँ यसले सही तापक्रम नदिन सक्छ।Pet Temp Ear Thermometer

  • कानबाट तापक्रम नाप्ने थर्मोमिटर छुट्टै हुन्छ।
  • कुकुरलाई सजिलो हुने गरी भुइँमा अथवा काखमा सुताउनुहोस्।
  • त्यसपछि थर्मोमिटरलाई कुकुरको कानभित्र सकेसम्म गहिराईसम्म छिराउनुहोस्।
  • थर्मोमिटरले ‘बिप’ आवाज ननिकालुञ्जेलसम्म कुर्नुहोस्।

प्राचीन कालदेखि नै कुकुरलाई मानिसको असल मित्र मानिँदै आएको हो। एकचोटि तपाईँले उसलाई आफ्नो साथ र माया प्रकट गर्नेबित्तीकै उसले पनि तपाईँलाई नै आफ्नो मालिक या भनौँ साथी ठानिसकेको हुन्छ। त्यसपछि तपाईँले उसलाई टाढा राख्न जतिसुकै प्रयत्न गर्नुहोस्, तपाईँ असफल हुनुहुनेछ। कुकुरको बफादारीता र महानताको त धार्मिक ग्रन्थहरूमा पनि बयान गरिएको छ। त्यसैले उसको स्वास्थ्यको ख्याल गर्नु तपाईँको धर्म हुन आउँछ।

यो पनि हेर्नुहोस्-
आफ्नै बच्चा झै बाँदरले कुकुरको छाउरो पाल्दै, अनौठो घटना हेर्न जम्मा हुन्छन् मान्छे
मानिससंगै कुकुरको क्याटवाक काठमाडौंमा
बोलेको बुझ्ने र भनेको मान्ने रोबोट कुकुर
कुकुर बिरालोले राज गर्छन् यो शानदार घरमा – फोटो फिचर
विज्ञान भन्छ- कुकुरले मानिसको अनुहारलाई चिन्छ