३२ साउन, काठमाडौं ।

राजनीतिक दलहरुबीच आगामी भदौं ५ गते भित्र संविधान संसोधनको विषयलाई पार लगाउने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आब्हान गरेको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकले भदौ ५ गतेभित्र संविधान संशोधनको टुंगो लगाउने निर्णय गरेको एमाले संदीय दलका उपनेता शुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

घटीमा भदौ चार र बढीमा पाँच गतेभित्र संविधान संशोधनको टुंगो लगउने निर्णय गरेको नेम्वाङले बताए । यसैबीच तीन दलको बैठकले मंसिर १५ गतेभित्र प्रदेश सभा र प्रतिनिधि सभाको दुवै चुनाव गरिसक्ने निर्णय गरेको छ । एमाले नेता नेम्बाङले संविधान कार्यान्वयनका लागि मंसिर १५ लाई डेडलाइन मानेर चुनाव सम्पन्न गर्ने सहमति भएको जानकारी दिए ।

तीन दलले निर्वाचन आयोगसँग सल्लाह गरेर निर्वाचनको मिति तय गर्ने निर्णय गरेका छन् ।
यसैबीच सर्वदलीय बैठक केहीबेर अघि सकिएको छ । बैठकले संविधान संसोधन प्रस्तावलाई प्रकृयामा लैजाने समझदारी गरेको छ । यसमा प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि सहमत भएको नेताहरुले बताएका छन् । चुनावको मिति बारे सरकारले निर्वाचन आयोगसँग छलफल गरेर आवश्यक निर्णय लिनेछ ।

सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रमा सबै दल मिलेर काम गर्ने समझ्दारी पनि गरेको छ ।