५ जेठ, कालीकोट ।

पछिल्लो मत गणनाअनुसार यहाँको तीन नगरपालिकासहित दुई गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र एक नगरपालिकामा नेकपा एमालेले जितेको छ ।

रास्कोट नगरपालिकामा प्रमुखमा माओवादीका काशीचन्द्र बरालले दुई हजार एक सय १५ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनिराज बरालले एक हजार आठ सय २० मत ल्याएका छन् ।

उपप्रमुखमा सोही दलका मीमसरा शाहीले दुई हजार २३५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका उमा शाहीले एक जार ८७२ मत ल्याएका थिए ।

खाँडाचक्र नगरपालिका प्रमुखमा एमालेका जसिप्रसाद पाण्डेले दुई हजार २०८ मत ल्याई विजयी भएका छन् भने उनका निकटत प्रतिद्वन्द्वी माओवादीका लक्ष्मीप्रसाद चौलागार्इंले एक हजार ४६१ मत ल्याएका छन् । त्यसैगरी उपप्रमुखमा सोही दलका विजया विष्टले एक हजार ९८७ मत ल्याई विजयी भएकी छिन् भने उनकी प्रतिद्वन्द्वी माओवादीका गङ्गाकुमारी खड्काले एक हजार ४५६ मत ल्याएकी छिन् ।

एघार वटा वडामध्ये सातवटा वडाको अध्यक्षमा एमाले, दुई÷दुई वटामा माओवादी र एउटामा नेपाली काँग्रेसले जित हात पारेका छन् ।

तिला गुफा नगरपालिकामा नेकपा माओवादीका रतनबहादुर शाहीले एक हजार ८५१ ल्याई विजयी भएका छन् सो नगरपालिकाको उपप्रमुखमा दर्शना नेपालीले एक हजार ८४३ मत ल्याएर विजयी भएका छन् ।

सान्नित्रिवेणी नगरपालिकामा माओवादीका डम्बरबहादुर शाहीले एक हजार ७७५ मत ल्याई विजयी भए। उपाध्यक्षमा पनि सोही दलकै होइजा बुढा (गिरी)ले एक हजार ७६८ मत ल्याई विजयी भएका छन् ।

त्यसैगरी पचालझरना गाउँपालिकामा माओवादीका खड्कराज सेजुवालले एक हजार ६२३ मत ल्याई विजयी भए भने उपाध्यक्षमा पनि सोही दलका तारा न्यौपानेले एक हजार ५६८ मत ल्याई विजयी भएका छन् ।

पताङ्ला गाउँपालिकामा नेकपा माओवादीका लक्ष्मण बमले एक हजार ४२० मत ल्याई विजयी भए भने उपाध्यक्षमा पनि सोही दलका दाना न्यौपानेले एक हजार ३७१ मत ल्याई विजयी भएका छन् ।

पछिल्लो मतगणनाअनुसार महावै गाउँपालिकामा काँग्रेस र एमालेकोबीचमा भएको चुनावी तालमेलअनुसार काँग्रेसका नन्दबहादुर सिंहले एकहजार ४०० मत ल्याई विजयी भएका छन्, भने उपाध्यक्षमा एमालेका मनराज शाहीे विजयी भएका छन् ।

प्रमुख निर्वाचन अधिकृत केशवराज पाण्डेका अनुसार कालीका गाउँपालिकामा हिजो भएको पुनः मतदानपछि आज बिहानबाट गणना सुरु भएको छ भने नरहरिनाथ गाउँपालिका–६ मा यही ७ गते पुनः मतदान हुने भएको छ । उक्त मतदान केन्द्रमा मृतक उम्मेदवार धनरुप बटालाको स्थानमा वडा अध्यक्षको उम्मेद्ववारमा बटालाको पत्नी दूधा बटालालाई राप्रपाले उम्मेद्ववार उठाएको छ । रासस