२६ कात्तिक, काठमाडौं ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्रताको हक लोकतन्त्रमा मात्र सुरक्षित हुने बताएका छन । आईतबार बालुवाटारमा नेपाल तेक्वान्दो संघका खेलाडीलाई काँग्रेसमा प्रवेश गराउदै देउवाले मानवाधिकार, प्रेस स्वतन्त्रता र व्यक्तिको स्वतन्त्रताको हक लोकतन्त्रमा मात्र सुरक्षित हुने बताए ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लोकतन्त्र रोज्ने कि कम्युनिष्ट शासन रोज्ने जनमत भएको विचार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षा काँग्रेसले मात्र गर्न सक्ने दाबी गरे । कम्युनिष्ट शासन आए लोकतन्त्र समाप्त हुनेछ भन्दै उनले यस जटिल घडीमा काँग्रेसलाई साथ दिन जनतालाई आग्रह गरे । उनले लोकतन्त्रको संस्थागत विकासका लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नु अपरिहार्य भएको समेत उल्लेख गरे ।

त्यस्तै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि काँग्रेस सदैव कटिबद्ध रहँदै आएको बताउँदै आगामी निर्वाचनमा जनताले प्रजातान्त्रिक शक्तिलाई साथ दिनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा तेक्वान्दो संघका संस्थापक दीपराज गुरुङ, संघका महासचिव कमलराज गुरुङलगायत मुलुकभरका ३६१ खेलाडी काँग्रेसमा प्रवेश गरेका थिए ।