९ असार, धरान । २०४६ सालमा प्रजातन्त्र पुनर्बहालीपछिको स्थानीय, संसदीय निर्वाचन र दोस्रो जनआन्दोलनपछिका दुई संविधानसभा निर्वाचनको मतपरिणामले मात्र होइन, निरंकुश पञ्चायती व्यवस्थामा पनि धरान कम्युनिस्ट गढका रुपमा थियो। पञ्चायती व्यवस्थामा जनपक्षीय उम्मेदवारका नाममा धरानमा वामपन्थी चुनावमा उठेर नेतृत्व लिने गर्थे।

२०४६ पछिका सबै निर्वाचनमा धरानबाट नेकपा एमालेले जित हासिल गर्‍यो। २०४९ र २०५४ को स्थानीय निर्वाचनमा मेयर र उपमेयर दुवैमा एमालेको जित भयो भने २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा एमाले उम्मेदवारले कांग्रेसलाई पराजित गरे। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमाले उम्मेदवारको हार भए पनि लालकिल्ला तोडिएन।

माओवादी केन्द्रका उम्मेदवारले जित्दै लालकिल्ला कायमै राखे। त्यसबेला कांग्रेस तेस्रो स्थानमा झर्‍यो। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पुनः एमाले उम्मेदवारले यहाँबाट जित हासिल गर्दा कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा रहे। जुनसुकै निर्वाचनमा पनि कम्युनिस्टले जितेर लालकिल्लाका रुपमा परिचित धरान उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको परिणाम के होला, यो सबैको उत्सुकताको विषय बनेको छ। आजको नागरिकमा खबर छ ।

यसपालि लालकिल्ला तोडिएला त? नेता, कार्यकर्तासँगै आम मतदाताको मनमा यही प्रश्न खेलिरहेको छ। कांग्रेसका नेता मीन विश्वकर्मा केही दिनदेखि धरानमै छन् भने माओवादीले बुधबार घरदैलो अभियानमा केन्द्रीय नेता देव गुरुङलाई हिँडायो। एमालेले पनि केन्द्रीय नेता ल्याउने कसरत गरिरहेको छ।

यस उपमहानगरको मेयरमा कांग्रेसले धरान सभापति तिलक राई र उपमेयरमा श्यामा रेग्मीलाई उम्मेदवार बनाएको छ। एमालेबाट मेयरमा धरान अध्यक्ष तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारी चुनावी होडमा छन् भने माओवादी केन्द्र–संघीय समाजवादी फोरम गठबन्धनबाट अइन्द्रविक्रम बेघा मेयरमा र पारस काङमाङ राई उपमेयरमा उठेका छन्। सधैं पराजय बेहोरेको कांग्रेस असार १४ गतेको निर्वाचन जितेर लालकिल्ला तोड्न चाहन्छ। एमाले आफ्नो विरासत जोगाउन चाहिँरहदा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीचको चुनावी तालमेलले त्रिपक्षीय प्रतिस्पर्धा हुने अडकलबाजी हुन थालेको छ।

धरानमा राप्रपा, राष्ट्रिय जनमोर्चा, खम्बुवान राष्ट्रिय मोर्चा, जनजागरण पार्टी र पाँचजना स्वतन्त्र उम्मेदवारसहित १२ जना मेयरमा उठे पनि कांग्रेस, एमाले र माओवादी–फोरम गठबन्धनबीच प्रतिस्पर्धा हुने अनुमान छ। ‘धरान २००७ सालअघिदेखि नै कम्युनिस्ट गतिविधि भएको ठाउँ हो। यहाँका जनता विद्रोही स्वभावका छन्। २००७ सालमा दिल्ली सम्झौता धोका हो भन्दै राजा त्रिभुवनलाई कालो झन्डा देखाउने धराने नै हुन्। यो वा त्यो रुपमा पञ्चायतमा पनि वामपन्थी उम्मेदवारले चुनाव जित्थे,’ महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक हरिप्रसाद दाहालले भने, ‘लालकिल्ला तोड्न त्यति सहज छैन तर कम वा बेसी कांग्रेस, एमाले र माओवादीबीचमा नै प्रतिस्पर्धा हुन्छ।’

कांग्रेस नेताहरु विगतमा जितेका कम्युनिस्ट उम्मेदवारले धरानको विकास र समृद्धिको स्पष्ट खाका कोर्न नसकेकोले यो पटक जनताले वैकल्पिक शक्तिका रुपमा कांग्रेसलाई जिताउने दाबी गर्छन्। ‘यसअघि जितेका दल र उम्मेदवारले धरानको भौतिक पूर्वाधार र सामाजिक विकासका लागि दीर्घकालीन नीति र कार्यक्रम ल्याउन सकेनन्। अहिले पनि बसपार्क अस्तव्यस्त छ, दिगो आर्थिक स्रोत छैन, महंगी बढेको छ,’ कांग्रेसबाट मेयर पदका उम्मेदवार राईले भने, ‘जनताले वैकल्पिक शक्ति चाहिरहेका छन्, त्यसैले यसपटक कांग्रेसको जित निश्चित छ।’ विगतको तुलनामा अहिले कांग्रेस सांगठनिक रुपमा बलियो रहेको उनको दाबी छ। यद्यपि, कांग्रेसले विगतमा जस्तो अन्तर्घात रोक्न नसके धरानमा जित्न कठिन पर्ने कांग्रेसी वृत्तमा नै चर्चा छ। पूर्व नगरसभापति किशोर राईले मेयरमा भोट माग्दै हिँडिसकेको अवस्थामा टिकट नपाएपछि अन्तर्घातको आशंका बढेको थियो। धरानमा राईको जनसंख्या बढी भएकाले आफ्ना उम्मेदवारलाई बढी भोट आउने कांग्रेसको विश्वास छ। राई किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष पनि हुन्। केही दिनअघि यायोक्खा जिल्ला कमिटीले धरानका सबै राई उम्मेदवारलाई निमन्त्रण गरेर शुभकामना कार्यक्रम राखेपछि राईहरुको ‘न्युट्रल’ मत कांग्रेस उम्मेदवारले पाउने चर्चा छ।