१२ बैशाखको भूकम्पका कारण अधिकाँश नेपाली तनावमा छन् । त्रास पनि कायमै छ । धैरैले धेरै कुरा गुमाएको यो घडीमा मनमा अशान्ति मात्र बढेको छ । यहाँ हामीले तनावको समयमा मन शान्त पार्ने विधीबारे चिन्तक पूर्ण आकाशको आलेखको अंश साभार गरेका छौं ।

Purna Askashलेखक

मन शान्त राख्न के गर्ने ?

पहिलो विधि
कुनै पनि आसनमा शान्त भएर बसौं। आफ्नो ढाड सीधा बनाई आँखा र मुख बन्द गरौं। बन्द आँखाले दुवै आँखाका बीचमा बिनाकुनै तनाव हेरौं र श्वासलाई लामो, गहिरो एवं लयबद्ध बनाऔँ। श्वास लिँदा पेट विस्तारै फुलोस् र श्वास बाहिर छोड्दा पेट विस्तारै खुम्चियोस्। त्यस्तैगरी श्वास लिँदा पूरै लिने र छोड्दा पूरै छोड्ने।

केहि बेरमै आफूभित्र एउटा अपूर्व शान्तिको अनुभव हुन थाल्नेछ। यसका साथै हाम्रो ध्यान बाहिरका विषयवस्तु र मनमा रहेका चिन्ता, तनाव इत्यादिबाट हटेर विस्तारै आन्तरिक शान्तितिर जान थाल्नेछ।

ठीकसँग यो विधिको अभ्यास गरेमा केही दिनमा हाम्रो चेतना एउटा अलग आयाममा प्रवेश गर्छ। पुराना नकारात्मक र तापयुक्त विचारबाट मन र मष्तिस्कले मुक्ति पाउँछ। भित्रबाट एउटा नयाँ ऊर्जा, शान्ति, शक्ति र आनन्दको उदय हुन थाल्नेछ।

धैर्यपूर्वक यो प्रक्रिया बिहान र बेलुकी घटीमा बीस-बीस मिनेटका दरले सम्पन्न गरौं। ध्यानको अन्त्यमा तीन-चारपटक लामो र गहिरो श्वास लिँदै विस्तारै आँखा खोल्न सकिन्छ।

दोस्रो विधि
कुनै पनि आसनमा शान्त भएर बसौं। आफ्नो ढाड सीधा बनाई आँखा र मुख बन्द गरौं। बन्द आँखाले दुवै आँखाका बीचमा बिनाकुनै तनाव हेरौं। अब बाहिरबाट आइरहेका सबै आवाजलाई ध्यानपूर्वक सुनौं र आफूमा स्वागत गरौं।

आवाज आउँछन् अनि जान्छन्, यो प्रक्रिया नियमित रूपमा चलिरहन्छ। आवाजमध्ये यो मन पर्छ, योचाहिँ मन पर्दैन भनेर नछानौं। बिनाकुनै चुनाव सबै आवाजलाई स्वीकार गरौं।

धैर्यपूर्वक यो प्रक्रियालाई बिहान र बेलुकी घटीमा बीस-बीस मिनेटका दरले सम्पन्न गरेमा विस्तारै चेतना बाहिरको कोलाहल र तनावबाट भित्रतिर सर्न थाल्छ। नियमित अभ्यासबाट हामीले आफूभित्र एउटा यस्तो मौन केन्द्रको अनुभव गर्न थाल्छौं, जहाँ बाहिरका कुनै आवाजले कहिल्यै प्रवेश पाउँदैन।

हामी जतिजति यो आन्तरिक मौनको केन्द्रनजिक पुग्छौं, त्यति नै मनमा अपूर्व शान्ति, आनन्द एवं ऊर्जाको अतिरेक नै प्रवाहित हुन थाल्छ। ध्यानको अन्त्यमा तीन-चारपटक लामो र गहिरो श्वास लिँदै विस्तारै आँखा खोल्न सकिन्छ।

अब सेवा र ध्यानरूपी अध्यात्मका विपुल आशीषलाई दैनिक जीवनमा आत्मसात गरेर मनको घाउ भर्दै राष्ट्रको भौतिक एवं मानसिक पुनर्निर्माणमा लाग्ने बेला भएको हो कि?

अन्नपू्ण पोष्ट दैनिकबाट केही अंश साभार गरिएको