१० भदौ, चितवन । अविरल वर्षापछिको बाढीले बगाएर भारतको वाल्मीकि टाइगर रिजर्भमा पुगेको एउटा गैँडालाई उद्धार गरी  ल्याइएको छ ।

शुक्रबार नियन्त्रणमा लिइएको सो पोथी वयस्क गैँडालाई आज बिहान सौराहा ल्याइपु-याइएको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार आज बिहान करिब ७ः३० बजे सो गैँडालाई सौराहाको हात्तीसार नजिकै जनकौली मध्यवर्ती सामुदायिक वनमा छाडिएको छ । यससँगै बाढीले भारत पु-याएका पाँच गैँडाको उद्धार गरी फिर्ता ल्याइएको छ ।

वाल्मीकि टाइगर रिजर्भमा अझै एक गैँडा बाढीले पु-याएको छ । सो गैँडा ल्याउने प्रयास भइरहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए । गैँडाको उद्धारका लागि गत सातादेखि नै सोही क्षेत्रमा रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अर्यालका अनुसार अब बाँकी रहेको अर्को गैँडा नियन्त्रणको प्रयास आज बिहानदेखि शुरु भएको छ । गैँडालाई डार्ट (बन्दुकबाट लठ्याउने सुई लगाउने काम) गरेर ल्याइन्छ जसका लागि प्राविधिकसहित नेपाली ४० र वाल्मीकि टाइगर रिजर्भका २०० कर्मचारी परिचालन गरिएको छ ।

यसअघि भारतबाट चार गैँडाको उद्धार गरी निकुञ्ज ल्याइएको थियो । भारतबाट ल्याइएका गैँडामध्ये दुई पोथी माउ तथा एक भाले र एक पोथी बच्चा थिए । बाढीले बगाएर नेपालकै विभिन्न क्षेत्रमा तीन गैँडा पु-याएको छ । दुई गैँडा मृतावस्थामा भेटिएका थिए ।