५ असार, रोल्पा ।

थबाङ गाउँपालिकामा नेपाली कांग्रेस र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच चुनावी तालमेल भएको छ । आइतबार दिउँसो बसेका दुई पार्टी सहकार्य गर्ने निर्णयमा पुगेका हुन् । तालमेल गरेर जाने तर प्रमुखमा स्वतन्त्र चिन्ह लिएर लड्ने र उपप्रमुखमा कांग्रेसलाई सहयोग गर्ने सहमती पछि सोही अनुरुप उम्मेदवारी दिईएको छ ।

थबाङ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीका अमित घर्तीमगर प्रमुख र कांग्रेसका श्रीकुमारी रोका उपप्रमुखका रुपमा उम्मेदवारी दर्ता गराएका छन् । माओवादी गढका रुपमा चिनिएको थबाङ गाउँपालिकाबाट नेकपाका स्थानीय युवा नेता अमित घर्तीमगरले प्रमुखका रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

माडीमा कांग्रेस–एमाले तालमेल

पश्चिमी रोल्पामा रहेको माडी गाउँपालिकामा कांगेस र एमालेले चुनावी तालमेल गरेका छन् । यसअघि आ–आफ्नै उम्मेदवार लिएर निर्वाचन प्रचारप्रसार गरेका यी दुइदलले अन्ततः तालमेल गरेका छन् । दुई पार्टीबीचको सहमति अनुसार गाउँपालिका प्रमुखमा कांग्रेसका गोपाल घर्तीमगर र उपप्रमुखमा एमालेका प्रेमबहादुर घर्तीमगरले उम्मेदवारी दर्ता गराएका छन् ।