निर्वाचन बहिष्कारमा लागेको पार्टीकै नेता उम्मेदवार

९ असार, रोल्पा ।
देशभर स्थानीय निर्वाचन बहिष्कारमा उत्रिएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो ‘आधार इलाका’ थबाङलाई पनि निर्वाचनविरुद्ध होम्न ठूलै प्रयास गर्‍यो । तर, स्थानीयले गाउँको नेता आफैं चुन्न सक्ने गरी दुई दशकपछि आएको अवसर खेर फाल्न चाहेनन् ।

निर्वाचनमै जाने अडान कसी त्यसका लागि नेकपाको स्थानीय संगठनलाई दबाब दिए । अन्तत: पार्टीकै स्थानीय नेताहरु स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा होमिएका छन् । बहिष्कारमा मनाउन लामो प्रयास गरेका थबाङी नेता सन्तोष बुढामगर निराश भएर रुकुमतिर लागे ।

नेकपानिकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सदस्य अमित घर्ती मगर गाउँपालिका अध्यक्षमा लडै छन् । उनी दिनरात गाउँबासीका साथ चुनाव प्रचारमा खटिइरहेका छन् । निर्वाचन बहिष्कार गर्दा गलत व्यक्ति शक्तिमा आउने सम्भावना भएकाले पार्टी नीतिविपरीत स्वतन्त्र रूपमा उम्मेदवारी दिएको घर्तीले बताए । ‘हामीले छोडिदिंदा भ्रष्ट नेताहरु शक्तिमा आउँछन् । तिनलाई परास्त गर्न चुनावमा होमिएका हौं,’ उनले भने, ‘युद्धकालदेखि नै यहाँका जनताको सुखदु:खमा सँगै रह्यौं । अहिले अधिकांश जनताले चुनावमा जानैपर्ने मनसाय राखेकाले प्रतिस्पर्धा गर्न तयार भयौं ।’ आफू अहिले पार्टीको कुनै पनि सम्पर्कमा नरहेको र कारबाही गरे भोग्न तयार रहेको घर्तीले बताए । आजको कान्तिपुरमा खबर छ ।

प्रतिष्ठाको प्रतिस्पर्धा
साढे तीन दशकयता स्थानीय स्तरका हरेक निर्णयमा एकजुट रहँदै आएका थबाङबासी यसपालि पनि चुनावका लागि एक भएका छन् । २०३८ सालदेखिको ‘कम्युनिस्ट गढ’ को परिचय खुकुलो बनाउँदै थबाङले दलीय रुपमा पनि विविधता अँगालिसकेको छ । ३६ बर्षपछि पहिलोपटक कांग्रेस र एमालेले यहाँ पार्टी कार्यालय स्थापना गरेका छन् । पहिलोपटक थबाङमा ठूलो चारतारे झन्डा फहराएको छ । एमाले पनि संगठन विस्तार गरी चुनावी स्पर्धामा होमिएको छ । माओवादी फुटपछि पहिले मोहन बैद्य र पछि चन्दले ‘कब्जा’ गरेको गाउँ अब उनीहरुको मात्र नियन्त्रणमा रहेन । माओवादी केन्द्र पनि यहाँ चन्दको प्रभुत्व बढ्न नदिन शक्ति परिचालन गरिरहेको छ । नेकपा त्यसलाई प्रतिकार गर्ने योजनामा छ ।

‘माओवादीले थबाङलाई प्रतिष्ठाको बिषय बनाएको छ । केन्द्रीय नेताहरु भरतपुरभन्दा बढी महत्व दिएर लागिरहेका छन्,’ घर्तीले भने, ‘कसरी पुरानो पकड भत्काउने र नयाँ कायम गर्ने भन्ने लडाई चलेको छ । उनीहरू भत्काउन चाहन्छन्, हामी बचाउन ।’ विद्रोही छवि बनाएको थबाङले अहिले पनि नेताहरूको दबाब अस्विकार गरी चुनावमा गएर विद्रोह नै गरिरहेको उनको भनाइ छ । यसअघि गाउँ परिषद् बोर्डमा माओवादीबाहेक कुनै पार्टीको सहभागिता थिएन । राष्ट्रिय जनमोर्चालाई मित्रशक्तिका रूपमा केही सहभागिता जनाउन दिइरहेका थिए । अरु पार्टी त परै, पहिले आधार इलाका बनाएको माओवादी केन्द्रलाई समेत त्यहाँ पस्न समस्या थियो ।

अब स्थानीय तह अधिकारसम्पन्न भएकाले गाउँविकास र बजेटको नेतृत्व आफ्नो हातमा पार्न माओवादी केन्द्र र नेकपाका स्थानीय कार्यकर्ता लागिपरेका छन् । चुनावमा जित्नेले पाँच वर्षसम्म थबाङको नेतृत्व गर्दै स्रोतसाधनमा पहुँच राख्ने भएकाले सबै चुनावी दौडमा छन् ।

पहिलोपटक बहुदलीय प्रतिस्पर्धा
थबाङले अधिकांश निर्वाचन बहिष्कार गर्दै आएको थियो । सहभागी भइहाले पनि बहुदलीय प्रतिस्पर्धा हुँदैनथ्यो । स्थानीयले पञ्चायतकालमा एकलौटी रुपमा कम्युनिस्ट तथा बहुदलीय व्यवस्थापछि संयुक्त जनमोर्चा र माओवादीलाई मतदान गरेका थिए ।

करिव ३६ बर्षपछि चुनावको क्रममा थबाङमा स्थापना भएको काँग्रेस पार्टी कार्यालय ।

पुष्पकमल दाहाल र सन्तोष बुढामगरलाई जिताउन पहिलो संविधानसभा निर्वाचनमा सबैले एकमुष्ट माओवादीलाई भोट हाले । २०७० को दोस्रो संविधानसभा निर्वाचन सबैले बहिष्कार गरे । तर, अब थबाङीले पहिलोपटक बिभिन्न पार्टीलाई मतदान गर्दै छन् ।

बहुदलिय प्रतिस्पर्धा गर्न पाएकोमा अन्य पार्टीका नेता खुसी छन् । पहिलोपटक प्रवेश गरेका काँग्रेस र एमालेका नेता कार्यकर्तालाई स्थानीयले बाजागाजासहित स्वागत गरेका थिए । ठूलो संघर्षपछि मात्रै अन्य पार्टीले प्रवेश पाएको एक बर्षदेखि थबाङमै बसेर एमाले संगठन बिस्तारमा लागेका हितबहादुर रोकाले बताए । दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नं. १ बाट सभासद् लडेका उनी अहिले थबाङमै गाउँपालिका अध्यक्ष लडै छन् । ‘सुरुमा अवरोध भयो, धम्की आयो तर विचलित भइनँ,’ उनले भने, ‘मैले संघर्ष नगरेको भए काँग्रेस, माओवादीले प्रवेश पाउने अवस्था थिएन ।’

कांग्रेसले स्वतन्त्र उम्मेदवारसँग तालमेल गर्दै निर्वाचन गतिबिधि चलाइरहेको छ । लामो समय गाउँबाट विस्थापित भएकी काँग्रेस नेत्री श्रीकुमारी रोका अहिले उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी अभियानको नेतृत्व गर्दै छिन् । ‘पहिले हामीलाई गाउँ पस्न पनि कठिन थियो, अहिले प्रतिस्पर्धा गर्न पाइएको छ,’ उनले भनिन् ।

द्विविधामा नेकपा
चुनाव बहिष्कारमै जोड गरिरहेको नेकपाले निकट नेताहरु स्वतन्त्र उम्मेदवारका रुपमा चुनावमा होमिए पनि कारबाही गरेको छैन । स्थानीय नेतृत्व झन् कडा बहिष्कारमा उत्रने कि आफूनिकटकालाई जिताउन लागिपर्ने भन्ने द्विविधामा देखिन्छ । अरू आउनुभन्दा आफूनिकटकाले जिते पार्टीको अस्तित्व जोगिने उसको भित्री चाहना रहेको बुझिन्छ ।

नेकपाका जिल्ला सेक्रेटरी दलबहादुर खत्रीले मनोनयन दर्ताको भोलिपल्टै प्रेस विज्ञप्ति जारी गरी उम्मेदवारी दिनेहरू आफ्ना कार्यकर्ता नरहेको दाबी गरेका थिए । थबाङ गाउँ इञ्चार्ज हितप्रसाद रोकाले पनि चुनाव लड्नेलाई कार्वाही हुने बताएका छन् तर स्थानीय कार्यकर्ता एकिकृत जनक्रान्तीका टिसर्ट लगाएर चुनाव प्रचारमा हिँडिरहेका छन् ।

नेकपाका जिल्ला सदस्य तथा थबाङ गाउँ ईञ्चार्ज रोकाले उम्मेदवारी नदिन निकै अनुरोध गर्दा पनि नेताहरुले नमानेको बताए । अब थबाङी जनता पहिलेजस्तै कुनै एक दल वा विचारको नियन्त्रणमा नरहेको उनले स्विकारे । ‘पहिले थबाङ छुट्टै राज्य जस्तो थियो, यो डाँडापारी के हुन्छ, थाहा हुँदैनथ्यो । अहिले सडक सञ्जाल, सूचना प्रविधि र आर्थिक स्तर वृद्धिले मानिसको सोच बदलियो,’ उनले भने, ‘अहिलेको परिवेशमा हामी सबैलाई आफ्नो नियन्त्रणमा राख्न सक्दैनौं ।’

आधारभूत आवश्यकता पूर्ति भइरहेकाले स्थानीय बासिन्दा अब किन आन्दोलन गरिराख्ने भन्ने निष्कर्षमा पुगेको रोकाको बुझाइ छ । ‘जीवन सुखी भएपछि मानिसले क्रान्ति गर्न गाह्रो मान्दो रैछ,’ उनले भने, ‘त्यसैले पार्टी त्यागेर चुनाव लड्न तयार भए ।’

यसरी भत्कियो एकता ?
स्थानीय शिक्षक दयाप्रसाद रोकाका अनुसार २०२९ सालसम्म थबाङमा काँग्रेसको बाहुल्य थियो । कम्युनिस्ट कम थिए । विद्यालयमा काँग्रेसका छोराछोरी पढ्थे । थबाङमा प्युठानबाट शिक्षक भएर गएकाहरु सबै कम्युनिष्ट थिए । उनीहरुले बिद्यार्थीलाई कम्युनिष्ट शिक्षा दिन थाले । अन्त्यमा सबै नयाँ पुस्ता कम्युनिष्ट विचारधारमा लागे । बुढापाका मात्रै कांग्रेस रहे । २०३८ सालमा कम्युनिस्टसँग द्वन्द्व भएपछि काँग्रेसी बिस्थापित भए ।