४ वैशाख, काठमाडौ ।

सरकारले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ शुक्रबार अन्त्येष्टी गर्ने भएको छ । उनको भारतको नयाँ दिल्लीमा बुधबार राति निधन भएको थियो । मन्त्रिपरिषदको बिहीबार बसेको आकस्मिक बैठकले उनको शोकमा शुक्रबार सार्वजनिक विदा दिने, सरकारी कार्यालय तथा कुटनीतिक नियोगमा एक दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

पञ्चायत र प्रजातान्त्रिककालमा गरी पाँच पटक प्रधानमन्त्री भएका ८९ वर्षीया थापाको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा पेटको शल्यक्रियापछि उपचाररत अवस्थामा निधन भएको हो । छ दशकदेखि राजनीतिमा सक्रिय थापा संविधानसभाका बहालवाला ज्येष्ठ सभासद थिए ।

Lt Surya bahadur Thapa (1)

उनको पार्थिव शरिर बिहीबार साँझ पौने सात बजे इन्डियन एयरफोर्सको बिषेश विमानबाट राजधानी ल्याइएको थियो । विमानस्थलमै श्रद्धाञ्जली व्यक्त गर्न उपप्रधामन्त्री प्रकाशमान सिंह, स्वास्थमन्त्री खगराज अधिकारी गएका थिए ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपा अध्यक्ष पशुपतिसम्शेर जबरा, नेता प्रकाशचन्द्र लोहनी, कांग्रेस नेता अर्जुननरसिंह केसीलगायत पार्टी कार्यकार्ता र शुभेच्छुकहरु पनि विमानस्थल पुगेका थिए । विमानस्थलबाट थापाको श्रद्धाञ्जलीका लागि उनकै निवास मालीगाँउमा लगिएको राप्रपाका सहायक प्रवक्ता किरण गिरिले जनाए । आजको कान्तिपुरमा खबर छ ।

राप्रपाको बिहीबार बसेको आकस्मिक बैठकले थापाको पार्थिव शरिरलाई शुक्रबार बिहान १० देखि १२ बजेसम्म पार्टी कार्यालय चावहिल र दिउसो १ देखि ३ बजेसम्म दशरथ रंगशालामा श्रद्धाञ्जलीका लागि राख्ने निर्णय गरेको छ । दशरथ रंगशालाबाट राजकीय सम्मानका साथ नेपाली सेनाको टुकडीले सलामी दिएपछि उनको शव यात्रा सुरु हुनेछ । यसअघि निधन भएका पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई स्तरको राजकीय सम्मान थापालाई दिइनेछ ।