१० भदौ, काठमाडौं ।

नेपालको राष्ट्रिय लिग विजेता थ्रीस्टार क्लबले मङ्गोलियामा जारी एएफसी कप फुटबल प्रतियोगिताको प्ले अफ खेल्न पाउने भएको छ ।

मङ्गोलियामा भएको प्रतियोगिताको प्ले अफ छनौटमा समूह बी बाट समूह बिजेता बन्दै थ्रीस्टारले अर्को चरणको यात्रा तय गरेको हो ।

आज इर्चिम र नागावल्डबीचको खेलमा इर्चिमले नागावल्डलाई शुन्यका बिरुद्ध एक गोलले हराएपछि थ्रीस्टार दोस्रो चरणमा पुग्ने निश्चित भएको हो ।

यसअघि मङ्गलबार भएको आफ्नो दोस्रो खेलमा थ्रीस्टारले कम्बोडियाको नागावल्ड क्लबसँग एक÷एक गोलको बराबरी खेलेपछि अर्को चरणमा प्रवेशका लागि बिहिबारको इर्चिम र नागावल्डबीचको नतिजा पर्खनुपरेको थियो ।

गत आइतबार भएको पहिलो खेलमा आयोजक मङ्गोलियाकै इर्चिम क्लबलाई थ्रीस्टारले शुन्यका बिरुद्ध दुई गोल अन्तरले पराजित गरेको थियो ।

तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता रहेको छ । तीनै समूहबाट समूह विजेता टोली अर्को चरणमा पुग्नेछन् ।