८ असोज, काठमाडौं।

भारतको गुवाहाटीमा जारी बोर्डोलोई ट्रफी फुटबलमा नेपाली टिम थ्रि स्टार बराबरीमा रोकिएको छ ।

गएराति भएको प्रतियोगिताको दोश्रो खेलमा थ्रीस्टार भारतको ओयल इन्डिया फुटबल क्लबसंग एक एक गोल बराबरीमा रोकिएको हो ।

दश खेलाडीमा सीमित थ्रीस्टारले लिग चरणको दोस्रो खेलमा भारतीय क्लबसंग बराबरी खेल्दै अंक बाडेको हो । ४२ औ मिनेटमा दोहोरो पहेलो कार्ड खादै डिफेन्डर विजय धिमाल मैदान बाहिरिएपछि थ्रीस्टार दोस्रो हाफ पुरै समय दश खेलाडीमा सीमित भयो ।

खेलको सातौ मिनेटमा नविन राभाको गोलबाट ओयल ईण्डियाले अग्रता बनाएको थियो । दोस्रो हाफमा फरवार्ड विमल घर्तिमगरको स्थानमा मैदान छिरेका विजय गूरुङले खेलको ९० औ मिनेटमा थ्रीस्टारका लागि बराबरी गोल फर्काएका थिए ।

बराबरीपछि थ्रीस्टार दूई खेलबाट ४ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा छ । समान अंक भएपनि सिलोङ लाजोङ फुटबल क्लब गोल अन्तरका आधारमा समुह एको शिर्ष स्थानमा छ ।

भोली आइतबार हुने थ्रीस्टार र सिलोङ लाजोङ बिचको खेलले समुह विजेताको टुङ्गो लगाउने छ । ओयल इन्डिया २ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा छ । अंक विहिन बारक फुटबल क्लब तालिकाको पुछारमा छ ।