२८ असोज, सोल। दक्षिण कोरियाली एक अदालतले शुक्रबार भ्रष्टाचार प्रकरणमा महाभियोगपछि संसद तथा अदालतबाट दोषी ठहर भई काराबास सजाँय भोग्दै आएका पूर्व राष्ट्रपति पार्क ग्युन हेको कारावास सजाँयलाई थप छ महिना बढाउने आदेश दिएको छ ।

कोरियाली संवैधानिक अदालतले घुस तथा पदीय आचरण विरोधि काम गरेको ठहर गर्दै पार्कमाथिको महाभियोगलाई अनुमोदन गर्दै यही बर्ष मार्च महिनाको अन्त्यमा छ महिनाका लागि हिरासतमा लिइएको थियो ।

सोलको केन्द्रिय जिल्ला अदालतले पार्कलाई थप अनुसन्धानका लागि अर्को छ महिना हिरासतमा लिन शुक्रबार पक्राउ आदेश जारी गरेको छ । पार्क र उनका लामो समयदेखि निकट सहयोगी रहेका चोई सुन सिललाई भ्रष्टाचार प्रकरणमा नियन्त्रणमा लिइएको थियो ।

यस पहिलेको अदालतको निर्णय अनुसार पार्क आगामी सोमबार कैदमुक्त हुनु पर्ने थियो । दक्षिण कोरियाली संविधानअनुसार कुनै अपराधको शङ्का गरिएका व्यक्तिलाई अधिकतम छ महिना हिरासतमा राखी अनुसन्धान अगाडी बढाउन पाइन्छ । (रासस/सिन्ह्वा)