१६ चैत, एजेन्सी ।
दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क ग्युन हे आफूमाथि लागेको भ्रष्टाचार मुद्दा प्रकरणमा अभियोजकद्वारा माग भएबमोजिम सोलस्थित एक अदालतमा उपस्थित हुने बताएकी छिन् ।

पार्कले प्रहरीको पक्राउबाट जोगिन अदालतमा हाजिर हुने निर्णय लिएकी हुन ।

सोलका ‘सेन्ट्रल डिस्ट्रिक्ट प्रोसेक्युटर्स’ को कार्यालयले भ्रष्टाचार प्रकरणबारे छानबिन गर्न पार्कलाई अदालतमा उपस्थित गराउन गरेको निर्देशनबमोजिम आवश्यक परेको समयमा उनि अदालतमा उपस्थित हुन तयार रहेको उनको कानुनी समूहले मङ्गलबार जानकारी गराएको अदालतले जनाएको छ ।

अदालतले पार्कलाई थप छानबिनका लागि प्रहरी हिरासतमा राख्ने वा तारेखमा घर जान दिने भन्ने निर्णय उनिमाथि लगाइएका आरोपबारे अध्ययन र उपलब्ध कागजातका आधारमा टुङ्गो लगाइने बताइएको छ ।

पार्कमाथि राज्य र विशेष अदालतले भ्रष्टाचारसम्बन्धी विभिन्न १३ मुद्दामा अनुसन्धान गर्नुपर्ने भनी मुद्दा दायर गरेका छन् ।

पार्कलाई अदालतले पक्राउ गर्न आदेश दिएमा उनि दक्षिण कोरियाको इतिहासमा जेल जाने तेस्रो पूर्वनेता हुनेछिन् ।